Paschim Express
डडेल्धुराको परशुरामबाट महाकाली नदीमा सुरु भयो र्‍याफ्टिङ (तस्बिरहरु)

डडेल्धुरा । महाकाली नदीमा र्‍याफ्टिङ सुरु भएको छ । विश्व पानी दिवसको अवसरमा परशुराम नगरपालिकाको आयोजना तथा ग्रामिण महिला विकास तथा एकता केन्द्र (रुडुक) र अक्सफाम नेपालसँगको सहकार्यमा सञ्चालित दक्षिण एशियाली सीमा नदीको सामुदायिक सदुयोग ट्रोसा–२ परियोजनाको सहकार्यमा र्‍याफ्टिङ सुरु भएको हो ।

रुडुक डडेल्धुराका कार्यकारी निर्देशक अमर साउँदका अनुसार डडेल्धुराको परशुरामबाट सुरु भएको र्‍याफ्टिङ कञ्चनपुर जिल्लाको भीमदत्त नगरपालिका–९ खल्ला मछिट्टी पुगेर समापन हुनेछ । ‘र्‍याफ्टिङमा तीन वटा डुंगाबाट २४ जना जलयात्री सहभागी छन्,’ उनले भने, ‘र्‍याफ्टिङको एक कार्यक्रमकाबीच परशुराम नगरपालिकाका मेयर भरत बडायर जोशीले उद्घाटन गरेका हुन् ।’

मेयर जोशीले विश्व पानी दिवसको अवसरमा आन्तरिक एवंं वाह्य पर्यटकको महत्वपूर्ण सम्भावना बोकेको परशुराम क्षेत्रको पर्यटन प्रर्वद्धन गर्न र्‍याफ्टिङ सुचारु गरिएको जानकारी दिए । प्रत्येक वर्ष मार्च २२ तारिखका दिन विश्वभर मनाइने विश्व पानी दिवस आज नेपालमा पनि विभिन्न जनचेतनाका कार्यक्रम गरी मनाइँदैछ ।

संयुक्त राष्ट्रसङ्घको आयोजनामा सन् १९९२ मा ब्राजिलको रियो द जेनेरियोमा भएको पर्यावरण र विकाससम्बन्धी महासभाले विश्व पानी दिवसको घोषणा गरेको हो । यसवर्ष ‘शान्ति र समृद्धिका लागि पानी’ भन्ने नाराका साथ विभिन्न जनचेतनामूलक कार्यक्रमसहित विश्व पानी दिवस मनाइँदैछ । 

प्रकाशित मिति: शुक्रबार, चैत ९, २०८०  ११:१६
प्रतिक्रिया दिनुहोस्
Weather Update