Paschim Express
सुदूरपश्चिमका मुख्यमन्त्री विश्वासको मत लिने तयारीमा, बहुमत पाउने दाबी

धनगढी । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले होली लगत्तै प्रदेश सभाबाट विश्वासको मत लिने योजना बनाएका छन् । सोही अनुसार उनी गृहकार्यमा जुटेको उनको सचिवालयले जनाएको छ ।

यसअघिका दुई वटा सत्ता साझेदार दलहरूले समर्थन फिर्ता लिएपछि अल्पमतमा परेको मुख्यमन्त्री शाहले होली लगत्तै विश्वासको मत लिने भौतिक पूर्वाधार विकासमन्त्री प्रकाश देउवाले बताएका छन् । शनिबार प्रेस युनियनद्वारा धनगढीमा आयोजित ‘होली मिलन’ कार्यक्रममा मन्त्री देउवाले विश्वासको मत लिनुका साथै बहुमत प्राप्त गर्ने दाबी पनि गरेका हुन् ।

माओवादी केन्द्र र एकीकृत समाजवादीले समर्थन फिर्ता लिएपछि कांग्रेस नेतृत्वको वर्तमान सरकार अल्पमतमा छ । त्यसबेलाको सत्ता सहयात्री नागरिक उन्मुक्तिले भने अहिलेसम्म कांग्रेस सरकारलाई नै समर्थन गरिरहेको छ । मन्त्री देउवाले बहुमत प्राप्तिका लागि अन्य दल तथा सांसदहरूसँग पनि कुरा भइरहेकोले विश्वासको मत प्राप्त गर्ने दाबी गरेका हुन् ।

बहुमत पुर्‍याउने उद्देश्यले मुख्यमन्त्री शाहले सात सांसद रहेको नागरिक उन्मुक्तिका पाँच जनालाई मन्त्री बनाइसकेको छ । तर पनि नागरिक उन्मुक्ति अझै दुई धारमा देखिन्छ । सरकारमा सामेल नगराइएका सांसद कैशाल चौधरी समर्थन नगर्ने बताउँदै आएका छन् । अर्कोतिर अध्यक्ष रञ्जिता श्रेष्ठले नवगठित केन्द्र सरकारलाई समर्थन गरेकाले प्रदेशमा पनि सोही अनुरुप नयाँ बन्ने सरकारलाई समर्थनको पक्षमा छिन् । तर पार्टीका संरक्षक रेशमलाल चौधरी भने कांग्रेस नेतृत्वकै सरकारलाई सहयोग गर्ने पक्षमा छन् ।

कांग्रेसलाई वर्तमान सरकार जोगाउन नागरिक उन्मुक्तिका सबै सात जना सांसद, एक सांसद रहेको राप्रपा र एक जना स्वतन्त्र सांसदको साथ चाहिन्छ । राप्रपा र स्वतन्त्र सांसदले मुख्यमन्त्री शाहलाई ग्रीन सिंग्नल दिएको बुझिएको छ । कांग्रेस आफ्नै १८ सांसदा छन् । सरकार बनाउन या जोगाउन २७ सांसद आवश्यक पर्ने सुदूरश्चिममा नागरिक उन्मुक्ति निर्णायक छ ।

प्रकाशित मिति: शनिबार, चैत १०, २०८०  १७:१६
प्रतिक्रिया दिनुहोस्
Weather Update