काठमाडौं । सामाजिक र धार्मिक सदभाव भड्किने संकेत देखिएपछि बाँकेको नेपालगञ्जमा स्थानीय प्रशासनले कर्फ्यु लगाएको छ । हिन्दु र मुस्लिम समुदायबीच तनाव सिर्जना हुने संकेत देखिएपछि दिउँसो १ बजेदेखि नेपालगञ्ज उपमहानगरपालिका क्षेत्रमा अनिश्चितकालीन कर्फ्यु जारी गरिएको हो ।
पूर्वमा राप्ती नदी पुल, पश्चिममा खजुरा रोडको इन्द्रपुर जाने बाटो, उत्तरमा राँझा चोक र दक्षिणमा जमुनाहा नाकासम्म कर्फ्यु लगाइएको प्रमुख जिल्ला अधिकारी विपीन आचार्यले जारी गरेको सूचनामा उल्लेख छ ।
बजार क्षेत्रमा प्रहरी नायब उपरीक्षक नारायण डाँगीको नेतृत्वमा ५ सय बढी प्रहरीहरु परिचालन गरिएको छ । १०० बढी संख्यामा सशस्त्र प्रहरीहरु पनि परिचालित छन् ।
सामाजिक सद्भाव र धार्मिक एकता कायम गर्ने उद्देश्यले बागेश्वरी मन्दिरका महन्त चन्द्रनाथ योगी, मुस्लिम धर्मका धर्मगुरु मौलाना अब्दुल जब्बार मञ्जरीलगायतका धर्मगुरु, नागरिक समाजका प्रतिनिधि र सर्वसाधारणको सहभागितामा पदयात्रा निकालिएको हो ।
जिल्ला प्रशासन कार्यालय बाँकेले सोमबार मात्र जरुरी सूचना जारी गरी धार्मिक आस्थामा आँच पुर्याउने, धार्मिक विद्वेष फैलाउने जस्ता गतिविधि नगर्न र सामाजिक सन्जालमा पनि एकअर्काविरुद्ध जथाभावी नलेख्न भनेको थियो । यदि त्यसो गरेमा स्थानीय प्रशासन ऐन २०२८ तथा प्रचलित कानुन बमोजिम कडा कारबाही गर्ने चेतावनी दिएको थियो ।