Paschim Express
बैतडीमा बलात्कृत किशोरीलाई सुन दिने भन्दै तमसुक बनाउने वडाध्यक्ष, कर्मचारी र शिक्षक पक्राउ

बैतडी । बैतडीको सिगास गाउँपालिकामा- ४ वर्ष पहिले बलात्कार मुद्दा मिलोमतो गरेकाे आरोप लागेका तीनजना  पक्राउ परेका छन् । सोमबार  सिगास गाउँपालिका -३ वडा अध्यक्ष अमर सिंह धामी, गाउँपालिकाका कर्मचारी राजेन्द्र सिंह धामी र भुवन भास्कार माविका शिक्षक मनोज सिंह धामी पक्राउ परेका हुन् ।

२०७७ सालमा स्थानीय दिपक सिंह धामीमाथि १८ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोप लागेको थियो । घटना बाहिर आएपछि  हालका वडा अध्यक्ष अमर सिंह धामी, शिक्षक मनोज सिंह धामी, कर्मचारी राजेन्द्र सिंह धामीलगायतका स्थानीयले तमसुक बनाएर घटना मिलोमतो गरेका थिए ।

आरोपित दिपकले बलात्कृत भएकी किशोरीलाई सुन दिने सहमतिसहितको तमसुक बनाएका थिए । मिलोमतोमा संलग्न अर्का गोपाल सिंह धामीले कैद भुक्तान गरेर छुटिसकेका छन् ।

सोही तमसुकको फट्के किनारा साँची बसेका तीनजना सोमबार पुनः पक्राउ परेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ । पक्राउ परेका तीनैजनालाई उच्च अदालत दिपायल कञ्चनपुरले एक महिना कैद सजाय तोकेको हो ।

त्यसमध्ये वडा अध्यक्ष अमर र शिक्षक मनोजले २७ दिन अनुसन्धानका क्रममा नै कारागार बसेका थिए । उनीहरूले अब ३ दिनमात्रै बस्नुपर्नेछ । यसैगरी यसअघि २५ दिन कैद भुक्तान गरेका राजेन्द्रले ५ दिन पुनः बस्नु पर्ने जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी निरीक्षक खेम बिक्रम केसीले जानकारी दिए । तीनैजनाले १० हजार जरिवना पनि तिर्नुपर्नेछ ।

बलात्कारमा संलग्न दिपक सिंह धामी भने अझै फरार छन् ।

प्रकाशित मिति: मंगलबार, चैत १३, २०८०  ११:३७
प्रतिक्रिया दिनुहोस्
Weather Update