Paschim Express
कर्णाली पुलबाट नदीमा किन हाम फाल्छन् युवाहरू ?

डडेल्धुरा । ०७७ चैत २८ गते कैलालीको लम्कीचुहा नगरपालिका–२ का १८ वर्षीय सञ्जय खड्का टिकटक बनाउन कर्णाली पुल पुगेका थिए । उनीसंगै थिए कक्षा १० मा पढ्ने ८ जना युवा ।

सामाजिक सञ्जाल टिकटकमा भाइरल हुन १७ वर्षीय बिरेन्द्र सिंह, १८ वर्षीय लोकेश प्याकुरेल र खड्काले कर्णाली पुलबाट नदीमा हाम फाले । खड्का कर्णाली नदीमै बेपत्ता भए । 

सोमबार पनि सोही प्रकृतिको घटना भएको छ । कर्णाली पुलमाथिबाट हाम फालेका १७ जनामध्ये लम्कीचुहा नगरपालिका–३ का ३० वर्षीय लोकेन्द्र शाही नदीमा बेपत्ता छन् ।

इलाका प्रहरी कार्यालय चिसापानीका प्रमुख तथा प्रहरी निरीक्षक हरीराम डाँगी भन्छन्, ‘शाही सहितको टोलीलाई डिउटीमा रहेका प्रहरीले रोक्न खोजेको रहेछ । तर साथीभाई धेरैपछि भेटिएकोले पुलमा फोटो खिचेर फर्किन्छौँ भनी जबरजस्ती गरि अघि बढ्नुभएछ ।’

शाहीको आज बिहानैदेखि स्थानीय र प्रहरीले खोजी कार्य सुरु गरेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायब उपरीक्षक कुलदीप चन्दले जानकारी दिए । आवश्यक परे गोताखोर परिचालन गर्ने प्रहरीको तयारी छ । 

‘चिसापानी क्षेत्रका स्थानीय युवाहरूले यसअघि पनि पटकपटक कर्णाली नदिमा हाम हाल्ने गर्दा रहेछन्,’ चन्दले भने, ‘सोमबार पनि देखासिकीमा नै युवाहरूले हाम फालेका रहेछन् ।’

स्थानीय बासिन्दाका अनुसार ज्यान जोखिममा राखेर अहिले सामाजिक सञ्चालजमा भाइरल बन्नका लागि कर्णालीको पुलबाट नदीमा युवाहरू हाम फाल्ने गरेका छन् ।

प्रहरीले दैनिक रूपमा युवाहरूलाई सम्झाउँदै आएको छ । तर अटेरी गर्दै युवाहरूले ज्यान नै जोखिममा राखेर पुलबाट कर्णालीमा हाम फाल्ने गरेका छन् । सार्वजनिक बिदाको दिन सयौँको संख्यामा युवाहरू फेसबुक रिल बनाउन कर्णाली पुलमा पुग्ने गरेका छन् । 

प्रकाशित मिति: मंगलबार, चैत १३, २०८०  ११:५६
प्रतिक्रिया दिनुहोस्
Weather Update