Paschim Express
सुदूरपश्चिमका महिलाको ‘काल’ बन्दै माटोको ढिस्को, काममा विभेदले जाँदैछ ज्यान

डडेल्धुरा । पछिल्लो एक सातामा डोटीमा मात्रै माटोको ढिस्काले दुई महिलाको ज्यान गएको छ । बिसु पर्व (नयाँ वर्ष) को अवसरमा घर पोत्नका लागि माटो निकाल्ने क्रममा माटोको ढिस्कोमा पुरिएर दुई महिलाको मृत्यु भएको हो । आदर्श गाउँपालिका–२ की ६० वर्षीया भागादेवी ओभा र शिखर नगरपालिका–९ मा २१ वर्षीया निर्मला रोस्याराका लागि माटोको ढिस्को नै काल बनेको हो । 

०७७ चैत तेस्रो साता माटोको ढिस्कोले पुरिएर डडेल्धुराको अमरगढी नगरपालिका–७ स्थित ऐरी गाउँकी ४० वर्षीया नारुदेवी ऐरीको मृत्यु भएको थियो । स्थानीय उग्रतारा जङ्गल नजिकै माटो निकाल्ने क्रममा उनलाई ढिस्कोले पुरेको थियो । ढिस्कोमा पुरिएर सोही वडाकी ३० वर्षीया शारदा ऐरी र २० वर्षीया कमला विक घाइते भएकी थिइन् । डडेल्धुरामै ०७५ चैत १५ गते गन्यापधुरा गाउँपालिका–२ कुजाकोटका २० वर्षीया कृष्णा देउवाको पनि मृत्यु भएको थियो । घर लिपपोत गर्ने रातोमाटो खन्ने क्रममा ढिस्को खसेर कृष्णा पुरिएकी थिइन् । उपचारको लागि डडेल्धुरा अस्पताल ल्याउने क्रममा बाटोमै उनको मृत्यु भएको थियो । 

२४ माघ ०७७ मा कैलालीको जानकी गाउँपालिका–९, पूर्वी खैरीफाँटामा माटो खन्ने क्रममा ढिस्कोले पुरिएर तीन महिलाको ज्यान गयो । घर लिपपोतका लागि माटो लिन गएका खैरीफाँटाका ३१ वर्षीया गङ्गा जैगडी, २० वर्षीया भावना ओड र १७ वर्षीया धनसरी विकको ढिस्कोले पुरिएर घटनास्थलमै मृत्यु भएको थियो । ०७६ जेठ ३२ गते कैलालीको घोडाघोडी नगरपालिकामा माटोको ढिस्कोले पुरिएर युवतीले ज्यान गुमाएकी थिइन् । घर लिप्न माटो खन्ने क्रममा माटोको ढिस्को खसेर टाउकोमा लाग्दा युवतीको मृत्यु भएको थियो । मुत्यु हुनेमा घोडाघोडी नगरपालिका–४ जनकपुरका बिष्णु भण्डारीकी १७ बर्षिय छोरी रेश्मा भण्डारी थिइन् । ०७९ असोज १३ गते कैलालीकै गौरीगंगा नगरपालिका–४ राजीपुर बस्ने ५२ वर्षीया जयकला खत्रीको माटोको ढिस्कोमा पुरिएर मृत्यु भएको थियो । सोही ठाउँस्थित जनता आधारभूत विद्यालयको जमिनमा घर पोत्नको लागि माटो खन्ने क्रममा अचानक माटोको ढिस्को खसेर उनी पुरिएकी थिइन् । 

बाजुरामा पनि माटोको ढिस्काले पुरिएर बालिकाको ज्यान गएको छ । ०७९ माघ २० गते जिल्लाको स्वामीकार्तिक खापर गाउँपालिकामा माटोको ढिस्कोले पुरिएर बालिकाको मृत्यु भएको थियो । मृत्यु हुनेमा स्वामीकार्तिक खापर–१ साप्पाटा मुक्तिकोट गाउँकी १४ वर्षीया शुसिला विक रहेकी थिइन् । 

अछाम जिल्लामा पनि माटोको ढिस्को धेरै महिलाहरुका लागि काल बनिरहेको छ । ०७८ चैत १९ गते जिल्लाको मंगलसेन नगरपालिका–७ जैशीगाँउकी २६ वर्षीया धनसरा जैशीको मृत्यु भएको थियो । त्यसअगाडि ०७४ साउनदेखि चैतसम्म प्रहरी कार्यालय अछाममा माटोले निम्त्याएका १४ घटना दर्ता भएका थिए । चार जनाको घटनास्थलमै मृत्यु भएको थियो भने १० जना घाइते भएका थिए । माटो खन्दा सुरक्षामा ध्यान नदिने र घर पोत्न रातो माटोकै प्रयोग गर्ने प्रचलनका कारण घटना हुने गरेको प्रहरीको भनाइ थियो । 

बझाङमा ०७७ चैत १५ गते नयाँ वर्षमा घर पोत्ने माटो लिन गएकी २५ वर्षीया महिलाको ढिस्कोले पुरिएर घटनास्थलमै मृत्यु भएको थियो । माटो खन्दै गर्दा माथिबाट खसेको ढिस्कोमा पुरिएर जयपृथ्वी नगरपालिका– ८ पैयातोलाकी मञ्जु बमको मृत्यु भएको थियो । ०७४ फागुन १९ गते बझाङकै खप्तडछान्ना गाउँपालीका ३ ठाँनाकोटमा माटोको ढिस्कोले पुरिएर २ जना महिलाको मृत्यु भएको थियो । नुवाकोट गाँउकी ३० वर्षीया रतनादेवी पाध्या र माइती घर आएकी २८ वर्षीया सनीत देवी जोशीको घर पोत्न रातो माटो निकाल्ने क्रममा माटोको ढिस्कोले पुरिएर घटनास्थलमै मृत्यु थियो । 

ग्रामीण भेगका अधिकांश आवास (घर) माटोबाटै बनेकाले तिनलाई मर्मत गर्न माटोले लिपपोत गरिरहनुपर्छ । लिपपोत ग्रामीण परिवेशमा धार्मिक मान्यतासँग पनि जोडिन्छ । यस्तो लिपपोतका लागि आवश्यक माटो ल्याउने काम गाउँठाउँमा महिलाकै काम हो । अपवादबाहेक यो काममा पुरुष संलग्न हुँदैनन् । त्यहीकारण माटो लिन नजिकैका वनजंगल र ढिस्काहरूमा पुग्ने महिला तथा बालिका माटो खन्दा ढिस्को खसेर हुने दुर्घटनामा पर्छन् । काममा भएको सोही विभेदका कारण सुदूरपश्चिमका कयौं महिलाहरुले ज्यान गुमाएका छन् ।

प्रदेश प्रहरी कार्यालय सुदूरपश्चिमले माटोको ढिस्कोले पुरिएर ९ जिल्लामा ज्यान गुमाउने र घाइते हुनेको विवरण राखेको छ । तर, उक्त विवरणमा पछिल्लो ६ वर्षमा ६ जनाको मृत्यु र १५ जना घाइते भएको उल्लेख छ । तर पछिल्लो ५ वर्षमा ९ जिल्लामा १६ जना महिलाले माटोको ढिस्कोमा पुरिएर ज्यान गुमाइसकेका छन् । यो सञ्चार माध्यममा जानकारीमा आएका घटनाको आँकडा मात्र भएकाले यस्तो संख्या अझ धेरै हुन सक्छ ।  

सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका प्रहरी बरिष्ठ उपरीक्षक प्रज्वल महर्जनका अनुसार माटोको ढिस्काले पुरिएर ज्यान गुमाउने सबै महिला छन् । भवितव्य घटनामा ज्यान गुमाउने महिला मात्रै हुन्छन् ? भन्ने प्रश्नमा उनले भने, ‘हाम्रो समाजमा कुन काम पुरुषले र कुन महिलाले गर्ने भनेर लगभग छुट्याएको हुन्छ । त्यसैले कामका प्रकृतिअनुसार घटनाका पीडित पनि महिला वा पुरुष हुने गरेका छन् ।’

सुदूरपश्चिम प्रदेशसभा सदस्य सरस्वती खड्काले केही काम महिलाले मात्रै गर्नुपर्छ भन्ने सोच र केही जनचेतनाको अभावले भवितव्य घटनामा महिलाको मृत्यु बढी भइरहेको बताउँछिन् । ‘घाँस–दाउरा र मेलापातको काम महिलाले मात्रै गर्नुपर्ने सोचाइका कारण उनीहरू दुर्घटनामा परिरहन्छन्,’ उनले भनिन्, ‘ती काममा महिलालाई मात्र लगाइँदा उनीहरूको ज्यान जोखिममा छ । माटोको ढिस्कोमा पुरिएर पनि धेरै महिलाले ज्यान गुमाएकी छिन् । माटो खन्दा सुरक्षामा ध्यान दिन पनि आवश्यक छ ।’ 
 

प्रकाशित मिति: बुधबार, चैत १४, २०८०  १२:२०
प्रतिक्रिया दिनुहोस्
Weather Update