Paschim Express
सुदूरपश्चिमका मुख्यमन्त्री शाहले नाउपाका २ मन्त्रीको जिम्मेवारी तोके

कैलाली।  सुदूरपश्चिम प्रदेश सरकारका मुख्यमन्त्री कमलबहादुर शाहले विना विभागीय मन्त्रीमा नियुक्त भएका दुई जना मन्त्रीलाई जिम्मेवारी तोकेका छन् ।

फागुन २५ गते विना विभागीय मन्त्रीमा नियुक्त भएका नागरिक उन्मुक्ति पार्टीका सांसद खुशीराम चौधरीलाई उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री र २८ गते नियुक्त भएका लक्ष्मणकिशोर चौधरीलाई सामाजिक विकास मन्त्रालयको जिम्मेवारी दिएका हुन् ।

उनीहरूले अहिले ११ बजे कार्यभार सम्हाल्ने तयारी गरेको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्‌को सचिवालयले जानकारी दिएको छ ।

योसँगै नाउपाबाट सरकारमा सहभागी भएका पाँचै जनाले जिम्मेवारी पाएका छन् ।

मुख्यमन्त्री शाहले यसअघि नाउपा दलका नेता घनश्याम चौधरीलाई आर्थिक मामिला र इन्दिरा गिरीलाई कृषि राज्यमन्त्रीको जिम्मेवारी दिएका थिए भने रामेश्वर चौधरी यसअघिदेखि नै भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रीको जिम्मेवारीमा छन् ।

बुधबार नाउपा अध्यक्ष रञ्जिता श्रेष्ठको अध्यक्षतामा बसेका संस्थापक केन्द्रीय सदस्यको बैठकले संघ र प्रदेशमा नयाँ सत्ता गठबन्धनलाई समर्थन गर्ने निर्णय गरेको थियो । तर, प्रदेश संसदीय दलले संरक्षक रेशम चौधरीबिना बसेको बैठकले गरेको उक्त निर्णय नमान्ने बताएको थियो ।

प्रकाशित मिति: बिहीबार, चैत १५, २०८०  ११:१६
प्रतिक्रिया दिनुहोस्
Weather Update