Paschim Express
डडेल्धुराको इलाका प्रशासनका हाकिमको मनपरीले सेवाग्राही मर्कामा, सिडियोले सोधे स्पष्टीकरण 

डडेल्धुरा ।  बिहीबार डडेल्धुराको परशुराम नगरपालिकाका एक किशोर नागरिकता बनाउन इलाका प्रशासन कार्यालय जोगबुढा पुगे । तर, त्यहाँका निमित्त कार्यालय प्रमुख हिक्मत सिंह भण्डारी बिदामा बसेको भएकाले उनको काम भएन ।

कार्यालयबाट भण्डारी केहि दिनअघि व्यक्तिगत कामले बिदामा बसेको जानकारी उनलाई गराइयो । किशोरले आफ्नो काम कहिलेसम्म होला त भन्ने जिज्ञासा मेटाउन कार्यालय प्रमुखलाई फोन गरे । तर, भण्डारीको फोन उठेन ।

भण्डारी केहीदिनदेखि बिदामा बसेर सम्पर्कमै नआउने गरेका कारण ती किशोर जस्तै धेरै नागरिकता लिनबाट वञ्चित बनेका छन् । उनलाई सम्पर्कमा नआएर सेवाग्राहरीलाई किन दुःख दिएको भन्ने प्रश्न गर्नका लागि हामीले उनलाई सम्पर्क गर्न खोज्यौ, तर फोन उठेन । 

उक्त विषयमा त्यहाँका सूचना अधिकारी रामकुमार चौधरीलाई प्रतिक्रिया माग्दा उनले कार्यालय प्रमुख नभएका कारण सेवाग्रारी फर्किएको स्विकार गरे । उनले नायब सुब्बा रहेका भण्डारीलाई निमित्त दिइएको अवधि सकिएकाले त्यस्तो समस्या आएको बताए । उनले अब समय मिलाएर जिल्ला प्रशासन कार्यालयबाटै टिम आउने र सेवाग्राहीको काम हुने बताएका छन् ।

 स्थानीयका अनुसार निमित्त दिइएका कार्यालय प्रमुख हिक्मत सिंह भण्डारी करिब एक हप्तादेखि बिदामा बसेर सम्पर्कमा नआइरहेको गुनासो गरेका छन् । 

यस विषयमा प्रमुख जिल्ला अधिकारी(सिडियो) अञ्जन न्यौपानेले पनि आज(बिहीबार) मात्रै भण्डारीको बारेमा गुनासो आएकाले उनलाई स्पष्टीकरण सोधिएको बताएका छन् । उनले दरबन्दी खाली भएको अवस्थामा निमित्त दिएका व्यक्तिको अवधि सकिएपनि कामकाज प्रभावित नहुनुपर्ने जिकिर गरे । 

प्रकाशित मिति: बिहीबार, चैत १५, २०८०  १५:०५
प्रतिक्रिया दिनुहोस्
Weather Update