Paschim Express
सुदूरपश्चिममा घटिरहेका छन् विद्यार्थी, के होला कारण ?

डडेल्धुरा । बिहीबारदेखि सुरु भएको माध्यमिक शिक्षा परीक्षा (एसईई) सुदूरपश्चिम प्रदेशमा मर्यादित रुपमा भइरहेको छ । एसईईमा पहिलो दिन एक हजार २१ परीक्षार्थी अनुपस्थित रहेका थिए । नियमिततर्फ रहेका ५० हजार छ सय २६ परीक्षार्थीमध्ये आठ सय ३७, प्राविधिक धार तर्फका एक हजार ३१ परीक्षार्थीमध्ये छ जना र ग्रेडवृद्धि तर्फका एक हजार तीन सय १७ मध्ये एकसय ७८ परीक्षार्थी अनुपस्थित रहेको शिक्षा विकास निर्देशनालय दीपायलले जनाएको छ ।

प्रदेशमा यसवर्ष ५५ हजार १० जना विद्यार्थी एसईईमा सहभागी हुने बताइएको थियो । तीमध्ये केही विद्यार्थी प्रत्येक दिन अनुपस्थित भइरहेका छन् । तर प्रदेशका ९ जिल्लामा नै अघिल्लो वर्षभन्दा यसवर्ष विद्यार्थीको संख्या घटेको छ । ०७९ सालमा सञ्चालन भएको एसईईमा सुदूरपश्चिम प्रदेशबाट ५५ हजार तीन सय ७६ जना विद्यार्थी सहभागी भएका थिए । यस्तै ०७५ सालमा ५४ हजार दुई सय ७०, ०७६ मा ५४ हजार पाँच सय ३७ जना विद्यार्थी एसईईमा सहभागी भएका थिए भने त्यसपछिका केही वर्ष कोरोना भाइरसको महामारीका कारण एसईई परीक्षा सञ्चालन हुन सकेको थिएन । 

अघिल्लो वर्षभन्दा यसवर्ष एसईईमा सहभागी हुने विद्यार्थीको संख्या घटेपछि शिक्षा विकास निर्देशनालय दीपायल पनि त्यसको कारण खोज्नतर्फ लागेको छ । निर्देशनालयका निर्देशक दुर्गादत्त बिष्टलाई भने विद्यार्थीको मूल्यांकन प्रणाली परिवर्तन भएका कारण पनि एसईईमा परीक्षार्थीको संख्या घटेको लागेको छ । ‘केही वर्षका लागि एसईईमा विद्यार्थी अनुत्तिर्ण नै नहुने भयो,’ बिष्टले पश्चिमएसक्प्रेसलाई भने, ‘सो कारणले अघिल्लो वर्ष एसईईमा सहभागी भएका विद्यार्थी अर्को वर्ष पनि सहभागी हुने कुरै आएन । अर्थात्, कोही पनि विद्यार्थी रोकिएनन् । जसले गर्दा विद्यार्थीको संख्या घटेको हुनसक्छ ।’

बिष्टका अनुसार पछिल्लो समय तल्लो कक्षामा मूल्यांकन प्रणालीमा भइरहेको कडाईले पनि एसईईमा विद्यार्थी घटेका हुन् । ‘अहिले विद्यालयहरुबीच नै उत्कृष्ट नतिजाका लागि प्रतिस्पर्धा भइरहेको छ,’ उनले भने, ‘जसका कारण कमजोर विद्यार्थीलाई तल्लो कक्षामै रोक्न थालिएको छ । यसले पनि एसईईमा विद्यार्थीको संख्या घटेको हो ।’

बिष्टका अनुसार माध्यमिक शिक्षा परीक्षा (एसईई) मा यसवर्षदेखि भने विद्यार्थीले १०० पूर्णाङ्कको परीक्षामा न्यूनतम ३५ अंक नल्याए ननग्रेड हुने भएका छन् । लेटर ग्रेडिङ निर्देशिका, २०७८ मा सैद्धान्तिक परीक्षामा ३५ प्रतिशत अंक नल्याए विद्यार्थी ननग्रेड हुने व्यवस्था गरिएको हो । निर्देशिका अनुसार कुनै विषयमा ३५ प्रतिशतभन्दा कम अंक ल्याए प्रमाणपत्रमा एनजी (नन ग्रेडेड) उल्लेख हुनेछ । विद्यार्थीले कुनै पनि विषयमा एनजी ल्याएको अवस्थामा कक्षा ११ मा पढ्न पाउने छैनन् ।

‘निर्देशिका अनुसार कक्षा ८, १० र १२ मा सबै विषयको सैद्धान्तिक परीक्षामा न्यूनतम ग्रेड अर्थात ३५ प्रतिशत अंक ल्याएपछि मात्रै विद्यार्थीले मूल प्रमाणपत्र पाउनेछन् । त्यस्तै प्रयोगात्मक परीक्षामा भने न्यूनतम ४० अंक ल्याउनुपर्नेछ । एसईईमा यो पटकदेखि सैद्धान्तिक र प्रयोगात्मक परीक्षाको मूल्याङ्कन फरक फरक रुपमा गरिएको छ,’ बिष्टले थपे । 

प्रकाशित मिति: शुक्रबार, चैत १६, २०८०  ०९:२६
प्रतिक्रिया दिनुहोस्
Weather Update