Paschim Express
बैतडीमा सार्वजनिक स्थलमा सुर्तीजन्य पदार्थ विक्री गरे कारबाही

बैतडी । बैतडीमा सार्वजनिक स्थलमा सुर्तीजन्य पदार्थ विक्री वितरण गरे कारबाही हुने भएको छ । सार्वजनिक स्थलमा धुम्रपान एवं सुर्तीजन्य पदार्थको सेवन गरे तत्कालै एक सय रुपैयाँ जरीवाना गर्ने प्रावधान छ ।

स्वास्थ्य कार्यालय बैतडीका प्रमुख योगेशप्रसाद भट्टका अनुसार सुर्तीजन्य पदार्थको जथाभावी विक्री वितरणमा रोक लगाउन प्रहरीसँग समन्वय गरिएको हो । जिल्ला प्रशासन कार्यालय, प्रहरी र स्वास्थ्य कार्यालयको सहभागितामा जिल्लाका मुख्य बजारहरुमा अनुगमन थालिएको छ ।

धेरैजसो किराना पसलहरुमा खाद्य पदार्थसँगै सुर्तीजन्य पदार्थहरु पनि विक्री गर्ने गरेको पाइएकोले त्यस्तो नगर्न सुझाव दिइएको छ । त्यसरी विक्री गरेको पाइए कानुनी कारबाही हुने स्वास्थ्य कार्यालय प्रमुख भट्टले बताए ।

पाटन बजार क्षेत्रमा शनिबार अनुगमन गरिएको थियो । जिल्लाका अन्य ठाउँमा पनि अनुगमन गरिने जनाइएको छ ।

 

प्रकाशित मिति: आइतबार, चैत १८, २०८०  १३:११
प्रतिक्रिया दिनुहोस्
Weather Update