Paschim Express
डडेल्धुरा सदरमुकामको सडक विस्तार : मुआब्जा पाउने ६४ जनाको जग्गा रोक्का

डडेल्धुरा । डडेल्धुरा सदरमुकामको सडक स्तरोन्नतिको काम अगाडि बढाउन तेस्रो चरणमा मुआब्जा वितरणको प्रक्रिया जारी राखिएको छ । तेस्रो चरणमा मुआब्जा वितरण गर्नका लागि सरकारले २३ करोड रकम सडक डिभिजन कार्यालय कुलपाते डोटीलाई उपलब्ध गराएपछि मुआब्जा वितरण भइरहेको हो । 

महाकाली राजमार्गअन्तर्गत डडेल्धुरा जिल्ला सदरमुकामको किर्तिपुरदेखि उग्रतारा मन्दिर गेटसम्मको सडक खण्डमा रहेका घर तथा जग्गा धनीलाई मुआब्जा दाबी गर्न जिल्ला प्रशासन कार्यालयले पुस २५ गते ३५ दिने सूचना प्रकाशित गरेको थियो ।

किर्तिपुदेखि उग्रतारा मन्दिर जाने गेटसम्मको सडक खण्डमा रहेका एक सय ५३ जना घर तथा जग्गाधनीलाई सडक डिभिजन कार्यालय कुलपाते डोटीमा निवेदन दिएर मुआब्जा दाबी गर्नका लागि सूचनामा आग्रह गरिएको थियो ।

‘मुआब्जाका लागि २३ करोड बजेट सडक डिभिजन कार्यालय कुलपाते डोटीलाई प्राप्त भएपछि वितरणको प्रक्रिया अगाडि बढाइएकोमा निर्धारित समयमा एक सय ३७ जनाले मात्रै निवेदन दिएका थिए,’ कार्यालयका प्रमुख रमेश भट्टराईले भने, ‘१६ जनाले निवेदन नदिएपछि फागुन ८ गते सात दिनभित्र निवेदन बुझाउनका लागि पुनः सूचना जारी गरेका थियौं । उक्त अवधिमा पनि सबैले निवेदन दिएका छैनन् । अझै ५, ६ जना सम्पर्कमा आएका छैनन् ।’

भट्टराईका अनुसार एक सय ५३ मध्ये ६४ जनाको जग्गा रोक्का भएको जानकारीसहित मालपोत कार्यालय डडेल्धुराले निवेदन पठाएको छ । ‘मुआब्जा पाउने ६४ जनाले सोही जग्गा बैंकमा धितो राखेर ऋण लिनुभएको रहेछ,’ उनले भने, ‘ती बैंकले जग्गा रोक्काका लागि मालपोतमा निवेदन दिएका थिए । मालपोतले जग्गा रोक्का भएको जानकारी सहितको निवेदन हामीलाई पनि पठाएको छ ।’ 

मालपोत कार्यालयले ६४ जनाकै जग्गा फुकुवाको प्रक्रिया अगाडि बढाउन सम्बन्धित बैंकले आग्रह गर्ने तयारी रहेको सडक डिभिजन कार्यालय कुलपाते डोटीका प्रमुख भट्टराईले बताए । उनका अनुसार यसअघि मुआब्जाका लागि प्राप्त भएको ५० करोडमध्ये झण्डै ४२ करोड रकम घर तथा जग्गाधनीलाई वितरण गरिएको छ । पहिलो चरणमा बागबजारदेखि तुफानडाँडातर्फ तीन सय मिटर दुरीमा रहेका एक सय ६ जना घर तथा जग्गा धनीलाई सबै मुआब्जा रकम वितरण गरिएको थियो । दोस्रो चरणमा दुई सय ८४ जनालाई पनि मुआब्जा वितरण गरिएको थियो । 

जिल्ला सदरमुकामको सडक विस्तारका लागि विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) तयार भइसकेको थियो । सडक विभागले छनोट गरेको परामर्शदाता कम्पनीले सोही डिपिआरलाई अन्तिम रुप दिने काम भइरहेको छ । 

जिल्ला सदरमुकाम बागबजारदेखि उग्रतारासम्म ३० मिटर चौडा सडक निर्माण गर्ने योजना छ । सडकको क्षेत्राधिकार खाली भएपछि सडक निर्माणका लागि ठेक्काको प्रक्रिया अगाडि बढ्ने सडक डिभिजन कार्यालय कुलपातेले जनाएको छ ।
 

प्रकाशित मिति: सोमबार, चैत १९, २०८०  ११:४०
प्रतिक्रिया दिनुहोस्
Weather Update