Paschim Express
डडेल्धुरा अस्पतालको ओपिडी सेवा नयाँ भवनबाट सुरु

डडेल्धुरा । डडेल्धुरा अस्पतालको बहिरङ्ग अर्थात् ओपीडी सेवा नयाँ भवनबाट सुरु गरिएको छ । भवनको निर्माणको काम ९९ प्रतिशतभन्दा बढी भएपछि आजदेखि सोही भवनबाट बहिरङ्ग सेवा सञ्चालन गरिएको हो । अस्पताल विकास समितिका अध्यक्ष करुणाकर ओझाले भवनको बाहिरी कामबाहेक सबै सम्पन्न भएपछि आजदेखि ओपीडी सेवा नयाँ भवनबाट सुरु गरिएको जानकारी दिए । 

‘आजदेखि ओपीडी सेवा सञ्चलन गरेका छौं,’ अध्यक्ष ओझाले भने, ‘भवनको निर्माण सम्पन्न भएर हस्तान्तरण भएपछि सोही भवनबाट अब आकस्मिक, शल्यक्रिया लगायतका थुप्रै सेवा सञ्चालन गर्ने तयारीमा छौं ।’

३३ करोडको लागतमा ०७८ पुस ९ गते काम सम्पन्न गर्ने गरी ०७५ पुस ९ गते ठेक्का सम्झौता भएको थियो । निर्माणको ठेक्का केएस कन्ट्रक्सनले पाएको थियो । पटकपटक म्याद थप भए पनि भवनको निर्माण भने अझै सम्पन्न नभएको हो । नयाँ भवनबाट सबै सेवा सुचारु गरेर डडेल्धुरा अस्पताललाई तीन सय शय्यामा स्तरोन्नति गर्ने योजना छ । 

यस्तै अस्पतालमै जर्मन सरकारको आर्थिक सहयोगमा निर्माण भइरहेका चिकित्सक तथा नर्सको क्वाटर र प्रसुती गृह पनि निर्माण गरिसक्नु पर्ने मितिमा निर्माण सम्पन्न हुन सकेका छैन ।

३३ करोड ८५ लाख ४८ हजार रुपैयाँ बराबरमा तीन वटा भवन निर्माण गर्न बिकोई बिल्डर्स प्रालिसंग २१ अगस्त २०२० मा ठेक्का सम्झौत भएको थियो । १८ फेब्रुअरी २०२३ मा निर्माण सम्पन्न गर्नुपर्नेमा अहिलेसम्म काम सम्पन्न भएको छैन । 
 

प्रकाशित मिति: मंगलबार, चैत २०, २०८०  १३:११
प्रतिक्रिया दिनुहोस्
Weather Update