Paschim Express
भूकम्पले बझाङका दर्जनौं घर र विद्यालयमा क्षति, २ जना घाइते

डडेल्धुरा । मंगलबार दिउसो दुई पटक आएको भूकम्पका कारण बझाङमा घर र विद्यालयमा क्षति पुगेको छ । जिल्लाको तलकोट र चैनपुर आसपास केन्द्रबिन्दु बनाएर गएको भूकम्पले भौतिक संरचनामा क्षति पुगाएको हो ।

जिल्ला प्रहरी कार्यालय बझाङका प्रहरी नायब उपरीक्षक भरतबहादुर शाहका अनुसार भूकम्पमा परी दुई जना घाइते भएका छन् । ‘जिल्लाको छबिसपाथिभेरा गाउँपालिका वडा नम्बर १ जालेबगरमा भूकम्पले सुख्खा पहिरो गएपछि उक्त पहिरोमा परी दुई जना घाइते भएका छन्,’ डिएसपी शाहले भने । 

यस्तै भूकम्पकै कारण तलकोट गाउँपालिकाको सुनिकोट मावि, जयपृथ्वी नगरपालिकाको सत्यवादी मावि लगायतका दर्जनौं विद्यालयमा क्षति पुगेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । जिल्ला सदरमुकाममै रहेको बाल विकास मावि गोलाईको भवन पनि भत्किएको छ । ‘पहिलो भूकम्प आएपछि विद्यार्थीलाई घर पठाउँदा ठूलो क्षति हुन पाएन,’ शिक्षक नरेन्द्र उपाध्यायले भने । तलकोट गाउँपालिका वडा नम्बर १ को भवन पनि भत्किएको छ ।

यस्तै जयपृथ्वी राजमार्गको विभिन्न ठाउँमा पहिरो गएर बाटोसमेत अवरुद्द भएको बताइएको छ । बझाङको तलकोट गाउँपालिकाकी उपाध्यक्ष पार्वतीकुमारी भण्डारीले भौतिक संरचनामा ठूलो क्षति भएको जानकारी दिइन् ।  ‘भूकम्पले भौतिक संरचना ध्वस्त नै बनाइदिएको छ । वडा नम्बर १ को कार्यालय भत्किएको छ । विद्यालयका भवन पनि ध्वस्त भएका छन् । बचेका विद्यालय भवनमा पनि चिरा परेको छ,’ उपाध्यक्ष भण्डारीले पश्चिमएक्सप्रेसलाई भनिन् । 

भूकम्पका कारण डोटीको पूर्वीचौकी गाउँपालिका– ३ गैरा गाँउस्थित दुर्गा माविको भवनमा क्षति पुगेको छ । भूकम्प मापन केन्द्र सुर्खेतका अनुसार दिउँसो ३ बजेर ६ मिनेटमा ६.३ रेक्टरको भूकम्प बझाङको चैनपुर आसपासमा गएको थियो । त्यसअघि दिउँसो २ बजेर ४० मिनेटमा बझाङको तल्कोट केन्द्रबिन्दु भएर ५.३ रेक्टर स्केलको भूकम्प गएको थियो ।

No description available.

No description available.

No description available.

फोटो : नरेन्द्र उपाध्याय

प्रकाशित मिति: मंगलबार, असोज १६, २०८०  १६:२१
प्रतिक्रिया दिनुहोस्
Weather Update