Paschim Express
सुदूरपश्चिमका ३ सांसद काठमाडौंमै, राजीनामा दिने तयारीमा मुख्यमन्त्री शाह

काठमाडौं । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले आज विश्वासको मत लिने कार्यसूची छ । तर, मत पाउने अवस्था नदेखेपछि शाह राजीनामा दिने तयारी गरिरहेका छन् । स्राेतका अनुसार शाहले प्रदेशसभामा सम्बाेधन गरेर राजीनामा  दिने तयारी थालेका छन् । 

मुख्यमन्त्री शाहलाई विश्वासकाे मत प्राप्त गर्न आफ्नाे दलका १८, नाउपाका ७, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का १ र स्वतन्त्र १ सांसदकाे गरि २७ मत आवश्यक छ ।  तर नाउपाका २ सांसद काठमाडौंमै रहेका छन् । 

नाउपमा रेशम पक्षका ५ जना सांसद विश्वासकाे मत दिन तयार रहे पनि रञ्जिता श्रेष्ठकाे पक्षका २ जना सांसद विपक्षमा रहेका छन् । उनीहरू काठमाडाैंबाट मत  दिन जान तयार नभएकाे अवस्थामा स्वतन्त्र सांसद डाक्टर तारा जाेशीले पनि काठमाडाैं नछाड्ने बताए । 'उहाँहरु २ जना कुनै हालतमा जानुहुन्न । त्यसैले मैले गएर पनि मुख्यमन्त्रीलाई मत पुग्दैन । म पनि जान्न’ उनले भने

यी तीन सांसद विश्वासकाे मत दिन धनगढी नजाने भएपछि मुख्यमन्त्री शाहले राजीनामाकाे तयारी गरेकाे स्राेतले बताएकाे छ । 

सुदूरपश्चिममा काँग्रेसका १८, माओवादी केन्द्रका ११, एमालेका १०, नागरिक उन्मुक्तिका सात, एकीकृत समाजवादीका चार, राप्रपाका एक र एक जना स्वतन्त्र प्रदेश सभा सदस्य रहेका छन् । सुदूरपश्चिममा बमुमतको सरकार गठनका लागि २७ जना प्रदेश सभा सदस्यको मत आवश्यक हुन्छ ।

 

 

 

 

प्रकाशित मिति: बिहीबार, चैत २२, २०८०  ११:०८
प्रतिक्रिया दिनुहोस्
Weather Update