Paschim Express
सुदूरपश्चिममा आजै नयाँ सरकार गठनका लागि आव्हान गरिने

धनगढी । सुदूरपश्चिम प्रदेशमा नयाँ सरकार गठनका लागि आज आव्हान हुने भएको छ । मुख्यमन्त्री कमलबहादुर शाहले बिहीबार साँझ राजीनामा दिएपछि प्रदेश प्रमुख नजिर मियाले आजै नयाँ सरकार गठनका लागि आव्हान गर्ने तयारी भएको हो ।

प्रदेश प्रमुखको कार्यालयका निमित्त सचिव शैलेश ढुङानाले नयाँ सरकार गठन गर्नका लागि आव्हान गर्ने तयारी अन्तिम चरणमा पुगेको बताए । प्रदेश प्रमुख मियाले बिहीबारदेखि नै राजनीतिक दल, कानूनका विज्ञहरूसँग नयाँ सरकार गठनका लागि आव्हान गर्नका लागि परामर्श लिइरहेका छन् । 

५३ सदस्यीय सुदूरपश्चिम प्रदेश सभामा हाल ५२ जना सदस्य रहेका छन् । नयाँ सरकार बनाउन २७ जनाको समर्थन आवश्यक पर्छ । तर सात सदस्य रहेको नागरिक उन्मुक्ति पार्टी आन्तरिक विवादमा फसेकोले नयाँ सरकार बन्न कठिनाइ भइरहेको छ । 

सङ्घीय सरकारमा रहेका नेकपा एमाले, नेकपा माओवादीसँग (समामुखबाहेक) १०, १० जना र एकीकृत समाजवादीसँग चार जना प्रदेश सभा सदस्य गरेर २४ मात्र रहेका छन् । 

प्रदेश सभामा नेपाली काँग्रेसका १८, राप्रपा र स्वतन्त्रका १, १ जना प्रदेश सभा सदस्य छन् ।

प्रकाशित मिति: शुक्रबार, चैत २३, २०८०  ११:०३
प्रतिक्रिया दिनुहोस्
Weather Update