Paschim Express
बझाङमा पनि भयो उपनिर्वाचनका लागि उम्मेदवारी दर्ता, कुन पार्टीबाट को ?

बझाङ । आगामी वैशाख १५ गते हुन लागेको उपनिर्वाचनका लागि बझाङ क्षेत्र नम्बर १ को प्रदेशसभा १ मा उम्मेदवारी दर्ता भएको छ । यसअघि विजयी भएको नेपाली कांग्रेसका तर्फबाट अभिषेकबहादुर सिंहको उम्मेदवारी दर्ता भएको छ । अभिषेकले नारा जुलुससहित नेपाली कांग्रेसका नेता तथा कार्यकर्ता लिएर उम्मेदवारी दर्ता गराउन मुख्य निर्वाचन अधिकृतको कार्यालय पुगेका थिए ।

यस्तै नेकपा एमालेको तर्फबाट दमन भण्डारीले उम्मेदवारी दर्ता गराएका छन् । भण्डारी एमालेका स्थायी समिति सदस्य कर्णबहादुर थापा, पोलिटब्युरो सदस्य एवं सुदूरपश्चिम प्रदेशका पूर्वमुख्यमन्त्री राजेन्द्र रावल, सुदूरपश्चिम प्रदेशका पूर्वसभामुख अर्जुन थापा, पूर्वराज्यमन्त्री आशा विक, संविधानसभा सदस्य अफिलाल ओखेडा, केन्द्रीय सदस्य ऐन महरसहित नेता कार्यकताको जुलुस लिएर उम्मेदवारी दर्तास्थल पुगेका थिए ।

नेकपा (माओवादी केन्द्र)का जनक बुढाले उम्मेदवारी दर्ता गराएका छन् । मुख्य निर्वाचन अधिकृतको कार्यालयमा शनिबार दिउँसो ४ बजे उनले उम्मेदवारी दर्ता गराएका हुन् । नारा जुलससहित माओवादी केन्द्रका नेता, कार्यकर्ता उम्मेदवारी दर्ता गराउन मुख्य निर्वाचन अधिकृतको कार्यालयमा पुगेका थिए । इलाममा माओवादीले नेकपा एमालेका उम्मेदवारलाई सघाएबापत बझाङमा आफ्नो उम्मेदवारलाई एमालेले सघाउनु पर्ने माग माओवादीले गर्दै आएको छ ।

राष्ट्रिय प्रजातन्त्र पार्टीले किशोर खड्काको उम्मेदवारी दर्ता गराएको छ । त्यस्तै नेकपा एकीकृत समाजवादीबाट दिलबहादुर सिंह र जसपा नेपालबाट रामबहादुर दर्जीको उम्मेदवारी दर्ता भएको छ । राष्ट्रिय मातृभूमि पार्टीबाट गजेन्द्र बहादुर थापाको उम्मेदवारी दर्ता भएको छ । 

यस्तै नेपाल मजदुर किसान पार्टीबाट खगेन्द्रबहादुर शाही र नेश्नल रिपब्लिक पार्टीबाट कमल घर्तीमगरको उम्मेदवारी दर्ता भएको मुख्य निर्वाचन अधिकृत सुदर्शन लामिछानेले जानकारी दिएका छन् ।

अन्य केही उम्मेदवारहरू मनोनयन दर्ताको क्रममा रहेका छन् । सुदूरपश्चिम प्रदेशका आन्तरिक मामिलामन्त्री एवं प्रदेश सभा सदस्य पृथ्वीबहादुर सिंहको सवारी दुर्घटनामा निधन भएपछि यहाँ वैशाख १५ गते उपनिर्वाचन हुँदैछ । 

प्रकाशित मिति: शनिबार, चैत २४, २०८०  १५:३८
प्रतिक्रिया दिनुहोस्
Weather Update