कैलाली । धनगढी उपमहानगरपालिका–३ विशालनगरमा रहेको कृष्ण–मोहन गौशालाले मासिक १ लाख ५० हजार रुपैयाँभन्दा बढी आम्दानी गर्दै आएको छ । सामुदायिक रूपमा सञ्चालित गौशालाले दुध र गोबरबाट आम्दानी उक्त रकम कमाएको हो । गौशालामा ७ जनाले रोजगारी पनि पाएका छन् ।
विसं २०७५ वैशाखदेखि सञ्चालनमा आएको गौशालामा अहिले एक सय ११ गाई छन् । गौ संरक्षण सेवा समिति गठन गरेर छाडा छाडिएका गाई पाल्न सुरु गरिएको गौशाला सुदूरपश्चिम सरकार, धनगढी उपमहानगरपालिका र स्थानीय चन्दादाताबाट रकम सङ्कलन गरेर स्थापना गरिएको हो ।
धनगढी उपमहागरपालिका–३ स्थित शान्ति सामुदायिक वनले उपलब्ध गराएको करिब एक बिघा जमिनमा गौशाला सञ्चालित छ । सुरुमा चन्दाबाट चलाइएको गौशालाले अहिले दुध र गोबरबाट आम्दानी लिन थालेको गौशालाकी प्रबन्ध निर्देशक रीता अवस्थीले बताइन् ।
निर्देशक अवस्थीका अनुसार गौशालामा दैनिक २५ लिटर दूध बिक्रीबाट मासिक ६७ हजार पाँच सय रुपैयाँ गोबर बिक्रीबाट मासिक ५० हजार रुपैयाँ र गौदानबाट २५ हजार रुपैयाँ आम्दानी भइरहेको छ । सो आम्दानीबाट सात कर्मचारीलाई वर्षभरि रोजगारी दिन सफल भएको उनले बताइन् ।
सडकमा छाडिएका गाईको दयनीय अवस्था देखेर स्थानीय भोजराज पाठकको अध्यक्षतामा गौ संरक्षण सेवा समिति गठन गरी गौशाला निर्माण र गाईको आहाराको व्यवस्था गर्न धनगढीका विभिन्न ७० जनाले दानस्वरुप रकम उपलब्ध गराएका थिए ।
चन्दादाताबाट प्राप्त रकमले गाईको आहार व्यवस्थापन हुँदै आएको छ । गौशालामा भौतिक संरचना निर्माण गर्न प्रदेश सरकारबाट ४० लाख रुपैयाँ, धनगढी उपमहानगरपालिकाबाट १० लाख रुपैयाँ र तत्कालीन प्रदेशसभा सदस्य डिल्लीराज पन्तबाट ८ लाख रुपैयाँ बजेट उपलब्ध भएको जनाइएको छ ।