Paschim Express

नयाँदिल्ली — चीनले भारतको अरुणाचल प्रदेशलाई आफ्नो भूभागमा समेटेर सोमबार नयाँ नक्सा जारी गरेपछि दुई देशबीचको तनाव थप बढेको छ । चीनको प्राकृतिक संसाधन मन्त्रालयले भारतको अरुणाचल, अक्साई चीन तथा ताइवान र विवादित दक्षिण चीन सागरलाई आफ्नो क्षेत्रमा देखाएको छ । 

 

चाइना डेलीका अनुसार उक्त नक्सालाई ‘२०२३ को चीनको स्ट्यान्डर्ड नक्सा’ भनिएको छ । चीनको सरकारको मुखपत्र मानिने ग्लोबल टाइम्सले नयाँ नक्सालाई सामाजिक सञ्जालमार्फत पहिलो पटक सार्वजनिक गरेको हो ।

 

चीनले गत अप्रिलमा अरुणाचल प्रदेशका ११ स्थानको नाम परिवर्तन गरेर चिनियाँ नाम घोषणा गरेको थियो । त्यसअघि पनि चीनले अरुणाचल प्रदेशका अन्य स्थानको नाम बदलेको थियो । चीन र भारतबीच अरुणाचल प्रदेशलाई लिएर विगत लामो समयदेखि विवाद रहँदै आएको छ ।

गत साता दक्षिण अफ्रिकाको जोहानेसबर्गमा भारतीय प्रधानमन्त्री मोदी र चिनियाँ राष्ट्रपति सी चिनफिङबीच साइडलाइन वार्ता भएको थियो । उक्त वार्तापछि सीमामा दुई वर्षदेखि कायम तनाव कम हुने अपेक्षा गरिएकोमा त्यसविपरीत नयाँ नक्साले दुई देशबीचको तनावलाई थप बढाउन सक्ने देखिन्छ । तीन वर्ष अगाडि २०२० जुन १५ मा गलवान घाटीमा भारत र चीनका सैनिकहरू एकआपसमा भिड्न पुगेका थिए । त्यसले बढाएको तनाव अझै साम्य भइसकेको छैन । सैन्य तहमा १९ पटक भइसकेको वार्ताले लद्दाख क्षेत्रको सीमा विवाद समाधान गर्न नसकेको बेला भारतमा हुन लागेको जी–२० सम्मेलनको मुखमा नक्सा विवाद थपिएको छ ।

प्रकाशित मिति: बिहीबार, भदौ १४, २०८०  ०७:५४
प्रतिक्रिया दिनुहोस्
Weather Update