Paschim Express
डडेल्धुरा सदरमुकाममा खानेपानीको समस्या, ३ दिनमा एकपटक आउँछ धारामा पानी

डडेल्धुरा । डडेल्धुरमा जिल्ला सदरमुकाम क्षेत्रमा खानेपानीको समस्या भएको छ । गर्मी मौसम सुरु भएसँगै मुहानमा पानी घटेपछि कतिपय क्षेत्रमा त खानेपानीको हाहाकार नै भएको छ ।

खलंगा खानेपानी उपभोक्ता समितिकाका अध्यक्ष जोगराज ऐरका अनुसार चैतको दोस्रो सातादेखि जिल्ला सदरमुकाममा खानेपानीको समस्या भएको छ । `सदरमुकाममा रहेका १४ धारामा पानी पुगाउन ०३४ सालमा खानेपानी योजना सुरु भएको थियो,´ उनले भने, `त्यसपछि एक सय घरधुरीको लागि ०५५ सालमा समिती स्थापना भएर योजना अगाडि बढ्यो ।अहिले जनघनत्व बढेर अहिले एक हजार ६ सय बढी घरधुरी पुगेकाले पानी पुर्‍याउन समस्या भएको छ ।´

खलंगा खानेपानी उपभोक्ता तथा सरसफाई समितिले डडेल्धुराको अमरगढी नगरपालिका वडा नम्बर २, ४, ५ र ८ मा खानेपानी वितरण गर्दै आएको छ । जिल्ला सदरमुकाममा खानेपानीको अभावलाई समाधान गर्न ३० कारोडभन्दा बढी लगानीमा खलंगा खानेपानी उपभोक्ता समितिमार्फत साना शहरी खानेपानी योजना सम्पन्न भएको थियो । तर गर्मी मौसममा भने सधै खानेपानीको अभाव हुने गरेको छ ।

खलंगा खानेपानी उपाभोक्त समितिसँग तीन लाख लिटर पानी भण्डारण गर्ने ट्याङ्की छ । तर, सदरमुकामवासी पानी धारामा नआएपछि समस्यामा परेका छन् । `तीन दिनमा एकपटक पानी आइरहेको छ,´ जिल्ला सदरमुकामकी निर्मला जोशीले भनिन्, `गर्मी मौसममा पानी नै नभएपछि निकै समस्या भएको छ।´ 

खानेपानी तथा सरसफाई डिभिजन कार्यालय डडेल्धुराका प्रमुख कृष्णबहादुर बोगटीका अनुसार जिल्ला सदरमुकाममा खानेपानीको समस्या समाधान गर्न चालू वर्ष दुई करोड बजेट छ । `थप मुहानका लागि २ करोड छ । यो वर्ष पाइप मात्रै खरिद हुन्छ,´ उनले भने, `अर्को वर्ष पाइप जडानको योजना अगाडि बढ्ने छ ।´

उनका अनुसार अनार्वे मुहानको पानी ल्याउने योजना कार्यान्वयन भइरहेको हो । अहिले सदरमुकाम वितरण गरिने खानेपानि योजनाको मुहान अमरगढी २ को लामासिन, मातारे र ३ नम्बरको अनार्वेमा रहेको छ ।

प्रकाशित मिति: आइतबार, चैत २५, २०८०  ११:१४
प्रतिक्रिया दिनुहोस्
Weather Update