Paschim Express
डडेल्धुराको अमरगढी नगरपालिकामा ‘वडा अध्यक्ष कप भेट्रान्स भलिबल’ प्रतियोगिता सुरु

डडेल्धुरा । डडेल्धुराको अमरगढी नगरपालिकामा वडास्तरीय पुरुष भेट्रान्स भलिबल प्रतियोगिता सुरु भएको छ । वडा नम्बर १० को आयोजनामा वडास्तरीय दोस्रो अध्यक्ष कप पुरुष भेट्रान्स भलिबल प्रतियोगिता सुरु भएको हो । 

प्रतियोगिताको एक कार्यक्रमका बीच सुदूरपश्चिमका पूर्व सामाजिक विकासमन्त्री गोविन्दराज बोहराले उद्धघाटन गरे । अमरगढी नगरपालिकाका प्रवक्तासमेत रहेका १० नम्बर वडाका अध्यक्ष खेमराज भट्टका अनुसार नयाँ वर्ष २०८१ को अवसरमा आजदेखि भलिबल प्रतियोगिता सुरु भएको हो । 

‘वडास्तरीय अध्यक्ष कप पुरुष भेट्रान्स भलिबल प्रतियोगिताको यो दोस्रो संस्करण हो,’ वडा अध्यक्ष भट्टले भने, ‘प्रतियोगितामा ३५ वर्ष नाघेका खेलाडीहरुको मात्रै सहभागिता हुन्छ । यो प्रतियोगिताले उमेर जति भए पनि हाम्रो जीवनमा खेल आवश्यक छ भन्ने सन्देश दिएको छ । यस्तै धेरै पहिले वीरेन्द्र सिल्ड खेलेर अहिले छुट्टिएका साथीहरुको पनि यो प्रतियोगिताले भेट गराएको छ ।’

प्रतियोगितामा अमरगढी नगरपालिकाकासहित विभिन्न पालिकाका ११ वटा वडाको टिम सहभागी रहेको आयोजकले जनाएको छ । प्रतियोगितामा पहिलो, दोस्रो र तेस्रो हुने टिमलाई पुरस्कारको पनि व्यवस्था गरिएको  । 

वडाध्यक्ष भट्टका अनुसार पहिलो, दोस्रो र तेस्रो हुने टिमले क्रमशः ५० हजार एक, ३० हजार एक र २० हजार एक रुपैयाँ नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र पाउनेछन् । यसका साथै उत्कृष्ट खेलाडीलाई समेत पुरस्कारको व्यवस्था गरिएको छ ।
 

प्रकाशित मिति: सोमबार, चैत २६, २०८०  १३:२६
प्रतिक्रिया दिनुहोस्
Weather Update