Paschim Express
बझाङ भूकम्प : एक बेपत्ता, १३ घाइते, दर्जनौं घरमा क्षति

डडेल्धुरा । बझाङमा भूकम्पपछि आएको पहिरोमा परेर एक जना बेपत्ता भएका छन् । जयपृथ्वी नगरपालिका–११ स्थित ओखरमा एक महिला बेपत्ता भएकी हुन् । बेपत्ता हुनेमा करिब ४० वर्षीय गुनमति धामी रहेको प्रहरीको भनाइ छ । यस्तै मंगलबार दिउसो दुई पटक आएको भूकम्पका कारण १३ जना घाइते भएका छन् । घाइतेको स्थानीय स्वास्थ्य संस्थामा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय बझाङका प्रहरी नायब उपरीक्षक भरतबहादुर शाहले बताए । त्यस्तै भूकम्पका कारण तीन दर्जन घर र विद्यालयमा क्षति पुगेको छ ।

यस्तै भूकम्पकै कारण तलकोट गाउँपालिकाको सुनिकोट मावि, जयपृथ्वी नगरपालिकाको सत्यवादी मावि लगायतका दर्जनौं विद्यालयमा क्षति पुगेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । जिल्ला सदरमुकाममै रहेको बाल विकास मावि गोलाईको भवन पनि भत्किएको छ । ‘पहिलो भूकम्प आएपछि विद्यार्थीलाई घर पठाउँदा ठूलो क्षति हुन पाएन,’ शिक्षक नरेन्द्र उपाध्यायले भने । तलकोट गाउँपालिका वडा नम्बर १ को भवन पनि भत्किएको छ ।

यस्तै जयपृथ्वी राजमार्गको विभिन्न ठाउँमा पहिरो गएर बाटोसमेत अवरुद्द भएको बताइएको छ । बझाङको तलकोट गाउँपालिकाकी उपाध्यक्ष पार्वतीकुमारी भण्डारीले भौतिक संरचनामा ठूलो क्षति भएको जानकारी दिइन् ।  ‘भूकम्पले भौतिक संरचना ध्वस्त नै बनाइदिएको छ । वडा नम्बर १ को कार्यालय भत्किएको छ । विद्यालयका भवन पनि ध्वस्त भएका छन् । बचेका विद्यालय भवनमा पनि चिरा परेको छ,’ उपाध्यक्ष भण्डारीले पश्चिमएक्सप्रेसलाई भनिन् । 

भूकम्पका कारण डोटीको पूर्वीचौकी गाउँपालिका– ३ गैरा गाँउस्थित दुर्गा माविको भवनमा क्षति पुगेको छ । भूकम्प मापन केन्द्र सुर्खेतका अनुसार दिउँसो ३ बजेर ६ मिनेटमा ६।३ रेक्टरको भूकम्प बझाङको चैनपुर आसपासमा गएको थियो । त्यसअघि दिउँसो २ बजेर ४० मिनेटमा बझाङको तल्कोट केन्द्रबिन्दु भएर ५।३ रेक्टर स्केलको भूकम्प गएको थियो ।

प्रकाशित मिति: मंगलबार, असोज १६, २०८०  १९:३५
प्रतिक्रिया दिनुहोस्
Weather Update