Paschim Express
डोटीको जैनोली रोएको दिन : आजै अस्ताएका थिए साहित्य, शिक्षा र स्वास्थ्य क्षेत्रका ‘हस्ती’

डडेल्धुरा । चैत ३० गतेको दिन हरेक वर्ष सुदूरपश्चिम प्रज्ञा प्रतिष्ठानका उपकुलपति डा. टीएन जोशीको मन खिन्न हुन्छ । उनी भन्छन्, ‘यो दिनमा सुदूरपश्चिमले थुप्रै हस्ती गुमाएको थियो ।’ उनले सम्झिने घटना ०७२ सालको चैत ३० मा घटेको थियो । डोटीको तत्कालिन जिजोडामाडौं गाविस (अहिलेको शिखर नगरपालिका)को जैनोली गाउँ रोएको थियो उक्त दिन । 

‘नयाँ वर्षमा सप्ताह आयोजना गर्ने योजनानुसार बाङ्डुग्रीसैनबाट जिजोडामाडौंतर्फ जाँदै गरेको अवस्थामा जीप दुर्घटना भएपछि ९ जनाको मृत्यु भएको थियो,’ डा. जोशी त्यो दिनलाई सम्झिदै भन्छन्, ‘उक्त घटना सुदूरपश्चिमका लागि दर्दनाक थियो ।’

सो दुर्घटनामा जन्मथलो फर्किरहेका पद्मकन्या क्याम्पस काठमाडौँका प्राध्यापक साहित्यकार एवम् डोटेली लोक संस्कृतिका अनुसन्धानकर्ता ६२ वर्षीय डा. जयराज पन्त, उनकी धर्मपत्नी ५५ वर्षीया सहप्राध्यापक गुड्डी पन्त तथा भाइबुहारी ५२ वर्षीया सावित्रा पन्त, डा पन्तका काका पशुसेवा निर्देशनालयका पूर्वनिर्देशक डा. गणेशराज र उनका भाइ केशवराज पन्तलागायत ९ जनाले ज्यान गुमाएका थिए । गुड्डी र सावित्रा दुवै पद्मकन्या क्याम्पसमै प्राध्यापनरत थिए । यस्तै स्थानीय कलावती ताम्राकार, जानकी ताम्राकार र हरिना ताम्राकारको पनि सोही दुर्घटनामा ज्यान गुमाएका थिए ।

पन्त परिवारको भने आफ्नो जन्मथलो जैनोली गाउँमा ०७३ वैशाख ३ गतेदेखि सप्ताह यज्ञको आयोजना गर्ने योजना थियो । सोहीअनुसार वाङ्डुग्रीसैनबाट जिजोडामाडौँसम्म जीपमा गइरहेको थिए उनीहरु । उनीहरु सवार ना १ ज ३२९४ नम्बरको जीप ०७२ चैत महिनाको ३० गते राति ९ बजे दुर्घटना भएको थियो ।

‘डा. जयराज पन्त सहितलाई एकै दुर्घटनामा गुमाउनु सुदूरपश्चिमका लागि अपूर्णीय क्षति थियो,’ जोशी भन्छन्, ‘उहाँले सिंगो सुदूरपश्चिमको भाषा, साहित्यमा पुगाउनुभएको योगदान अमूल्य छ । उहाँले छोडेर गए पनि उहाँका कृतिले हामीलाई सम्झाइरहन्छ ।’ 

नयाँ वर्षको मुखमा दुर्घटना भएपछि सबैभन्दा बढी सुदूरपश्चिमको साहित्य क्षेत्र शोकमा डुबेको थियो । अहिले पनि सुदूरमा भएका थुप्रै साहित्यिक कार्यक्रममा डा. पन्तको योगदानलाई स्मरण गर्ने गरिएको छ । ‘एउटै दुर्घटनामा साहित्य, शिक्षा र पशु क्षेत्रका हस्ती गुमाउनु पर्दाको पीडा निकै दर्दनाक थियो,’ उपकुलपति जोशीले भने । 

डा. जयराज पन्तको निधनपछि कतिपयले त सुदूरपश्चिम मात्रै नभएर सिंगो राष्ट्रले नै ठुलो क्षति भएको बताएका थिए । उक्त दुर्घटनापछि डा. तुलसी भट्टराईले रेडियो नेपालमा डा. नवराज लम्सालसँग भनेका थिए, ‘सुदूरपश्चिमले मात्र होइन राष्ट्रले नै लोक साहित्य र संस्कृतिका क्षेत्रमा ठूलो निधि गुमाएको छ ।’

को थिए जयराज पन्त ?

०१० सालमा डोटीको जैनोली गाउँमा जन्मेका पन्तको परिवारिक अवस्था सामान्य थियो । कक्षा चारसम्म गाउँकै गणेश पूर्वप्राथमिक विद्यालयमा अध्ययन गरेका पन्त पाँच कक्षादेखि उच्चाकोटको सीताराम हाइस्कुलमा अध्ययन गर्नेक्रममा ११ वर्षको उमेरमै आमा गुमाउन पुगेका थिए ।

हैजाले थला परेकी आमाले पानी पानी भनिरहदा एक घुट्को पानीसम्म पिलाउन नसकेको पीडा थियो उनीसँग । १४ वर्षको उमेरमा बुवाले पनि साथ छोडे । सानै उमेरमा काँधमा घरपरिवारको जिम्मेबारी आइपुग्यो । एसएलसी. पास भएपछि उनको यात्रा तय भयो हरिद्वारतिर । घरमा श्रीमती जमुनाले छोरो जन्माइन् । त्यो छोराले पनि उनलाई साथ दिएन । १० महिनामै बिदा भयो । हरिद्वारबाट शास्त्री उत्तीर्ण गरेर घर फर्के उनी । केही महिना घर बसेर पुनः अध्ययनका निम्ति हिँडे काठमाडौंतिर । उनी काठमाडौं गएको केही समय पश्चात घरमा पुत्रीको आगमन भयो । केही दिनमै श्रीमतीको मृत्यु भयो । 

०३६ सालमा त्रिविबाट नेपाली विषयमा प्रथम श्रेणीमा उत्तीर्ण हुन सफल भए लगत्तै त्रिचन्द्र कलेजमा अध्यापन गर्ने अवसर पाए । सोही समयमा गुड्डी उप्रेतीसँग वैवाहिक जीवनमा बाधिए । ०३८ सालमा आफ्नै क्षेत्रमा सेवा गर्ने उद्देश्यले उनी कैलाली बहुमुखी क्याम्पसमा अध्यापन गर्न पुगे । त्यहाँ बस्दा आफ्नै सम्पादनमा सेतीको सुसेली नामक पत्रिका समेत चलाए । केही समय उक्त क्याम्पसमा अध्यापन गरेका पन्तले पछि त्रिबि सेवा आयोगमा नाम निकालेर उपप्राध्यापकको नियुक्ति बुझे । कुमाउँ गडवालदेखि मध्य तथा सुदूर पश्चिमको लोक साहित्य र संस्कृतिमा लामो समयसम्म खोज अनुसन्धान गरिरहे ।

भारतको पटना विश्वविद्यालयबाट कर्णाली र डोटी क्षेत्रका संस्कार, कुमाउँनी एवं डोटेली लोकगीत विषयमा विद्यावारिधि गरेका पन्तले पछि त्रिभुवन विश्वविद्यालयबाट डोटेली पार्विक फागहरूको सङ्कलन र अध्ययन विषयमा दोस्रो विद्यावारिधि गरेका थिए । प्राध्यापक पदबाट उमेरका हिसावले अवकाश पाएका पन्त लेखन कार्यमा सक्रिय थिए । 

प्रकाशित मिति: शुक्रबार, चैत ३०, २०८०  १३:१४
प्रतिक्रिया दिनुहोस्
Weather Update