Paschim Express
भूकम्पपछि डडेल्धुरामा कहाँ कति क्षति भयो ?


डडेल्धुरा । आज(मंगलबार) दिउँसोदेखि बझाङमा आएको भूकम्पले डडेल्धुरामा पनि क्षति गरेको छ। 
मंगलबार दिउँसो २ बजेर ४० मिनेटदेखि ५ बजेर १९ मिनेटसम्म सम्ममा ७ पटक भूकम्पका धक्का महसुस भएकाे बताइएको छ । जसको असरले डडेल्धुरामा रहेका संरचनामासमेत असर गरेको जिल्ला प्रशासन कार्यालय डडेल्धुराले जनाएको छ।

जिल्लाको गन्यापधुरा गाउँपालिका-३ बस्ने लक्ष्मी देउवा र चन्द्रबहादुर देउवाको घरमा क्षति भएको छ भने, नवदुर्गा गाउँपालिका-३ का लक्ष्म्ण ऎर र चादनी ऎरको घरमा पनि आंशिक क्षति भएको प्रशासनले जनाएको छ। भूकम्पबाट कुनै मानवीय तथा चौपाया क्षति नभएको बताइएको छ।

यस्तै जिल्ला सदरमुकाम अमरगढी नगरपालिका–७ ऐरी गाउँस्थित कोलगडामा एक घर भत्किएको छ। कोलगडामा पण्डित टिआर भट्टको घर भत्किएको हो।

आज दिउँसो २ बजेर ४० मिनेटमा पहिलो धक्का महसुस भएको थियो । ५.३ म्याग्निच्युडको भूकम्पको धक्काको केन्द्रबिन्दु बझाङको तालकोट आसपासको क्षेत्रमा रहेको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।

पहिलो धक्का महसुस भएको २६ मिनेटपछि दोस्रो धक्का महसुस भएको थियो । ३ बजेर ६ मिनेटमा मापन गरिएको भूकम्प ६.३ म्याग्निच्युडको रहेको थियो । जसको केन्द्रबिन्दु अघिल्लो पटकको केन्द्रबिन्दुभन्दा केही तल भाटेखोला छेउमा रहेको थियो ।

दोस्रो पटकको धक्काको ७ मिनेटपछि ३ बजेर १३ मिनेटमा तेस्रो पटक भूकम्प मापन गरिएको केन्द्रले जनाएको छ । ५.१ म्याग्निच्युडको उक्त भूकम्पको केन्द्रबिन्दु भाटेखोला, तालकोट र रिलु क्षेत्रको आसपासमा रहेको थियो ।

त्यस्तै, चौथो पटक ३ बजेर ४५ मिनेटमा भूकम्पक मापन भएको थियो । तेस्रो पटकको धक्काको ३२ मिनेटपछि ४.१ म्याग्निच्युडको भूकम्प मापन भएको केन्द्रले जनाएको छ । चौथो पटकको धक्काको केन्द्रबिन्दु लेखगाउँ र कडेलको आसपासमा रहेको छ ।

त्यस्तै, पाँचौ पटक ४ बजेर २८ मिनेटमा ४.१ म्याग्निच्युडको भूकम्प महसुस भएको छ । उक्त धक्काको केन्द्रबिन्दु जिल्लाको भाटेखोला, रिलु र तालकोट आसपास रहेको छ ।

पाँचौ धक्का महसुस भएको ३ मिनेटपछि ४ बजेर ३१ मिनेटमा छैठौं धक्का महसुस भएको केन्द्रले जनाएको छ । ४.३ म्याग्निच्युडको मापन गरिएको उक्त धक्काको केन्द्रबिन्दु भने जिल्लाको हेमन्तवाडा र कडेल क्षेत्र आसपास रहेको छ ।

बझाङमा सातौं पटक भने ५ बजेर १९ मिनेटमा भूकम्प महसुस भएको छ । यसपटक ५ म्याग्निच्युडको भूकम्पको धक्का महसुस गरिएको केन्द्रले जनाएको छ । सातौं पटकको भूकम्पको धक्काको केन्द्रबिन्दु जिल्लाको हेमन्तबडा र भाटेखोला आसपासमा रहेको केन्द्रले जनाएको छ ।

ती भूकम्पका धक्का पश्चिमी क्षेत्रसहित भारतको दिल्लीसम्म महसुस गरिएको जनाइएको छ ।

प्रकाशित मिति: मंगलबार, असोज १६, २०८०  १९:४१
प्रतिक्रिया दिनुहोस्
Weather Update