Paschim Express
सुदूरपश्चिम सरकार गठनको म्याद सकिँदै, नाउपामा मुख्यमन्त्रीकाे बारेमा लफडा

कैलाली । सुदूरपश्चिम प्रदेशमा सरकार गठनका लागि दिइएको समय सीमा आज आइतबार सकिँदैछ । तर नयाँ सरकार गठनकाे विषयमा अन्योल कायमै छ ।

सत्ता समीकरण फेरिएपछि सुदूरपश्चिममा निर्णायक भूमिकामा रहेको नागरिक उन्मुक्ति पार्टी (नाउपा)लाई मुख्यमन्त्री दिने नयाँ गठबन्धनमा सहमति भइसकेको छ ।

तर नाउपाभित्रकाे विवादका कारण  मुख्यमन्त्री कमलबहादुर शाहले पदबाट राजीनामा दिएपछि मुख्यमन्त्रीमा दाबी पेस गर्न प्रदेश प्रमुखले आह्वान गरेको अन्तिम समयसीमा नजिकिँदै गर्दा शनिबारसम्म सुदूरपश्चिम प्रदेशसभामा रहेका कुनै पनि दलका प्रदेशसभा सदस्यले दाबी पेस गर्न सकेका छैनन् ।

नाउपाभित्र संरक्षक रेशमलाल चौधरी र अध्यक्ष रञ्जिता श्रेष्ठबीच आआफू निकट सांसदलाई मुख्यमन्त्री बनाउन तानातान भइरहेको छ। जसका कारण नाउपा ट‌ु‌ंगोमा पुग्न सकेको छैन । 

मुख्यमन्त्री पदका लागि रञ्जिताले कैलाश चौधरीलाई अघि सारेकी छन् भने रेशमले बहुमत सांसद देखाउँदै लक्ष्मणकिशोर चौधरी मुख्यमन्त्री हुनुपर्ने जिकिर गरिरहेका छन् । 

सुदूरपश्चिममा नाउपाका ७ सांसदमध्ये दुई जना कारबाहीमा परेका छन् । रेशमनिकट समानुपातिक सांसद इन्दिरा गिरी र दल नेता घनश्याम चौधरीलाई रञ्जिताले कारबाही गरेकी छन् ।

इन्दिरालाई सांसद पदबाट बर्खास्त गरिएको छ । घनश्यामका विषयमा भने प्रदेशसभाले निर्णय गरिसकेको छैन ।

सुदूरपश्चिम प्रदेशमा अहिले प्रदेशसभा सदस्यको संख्या ५१ रहेको छ । कांग्रेसका पृथ्वीबहादुर सिंहको दुर्घटनामा मृत्यु भएको थियो भने नाउपाकी इन्दिरा गिरी पदमुक्त भएकी छन् ।

प्रदेश सभामा हाल माओवादी केन्द्रका सभामुखसहित ११, नेकपा एमालेका १०, नागरिक उन्मुक्तिका ६ र नेकपा एकीकृत समाजवादीका ४ सांसद छन् । नेपाली कांग्रेसका १८, राप्रपा र स्वतन्त्र सांसद एक/एक जना छन् ।

प्रकाशित मिति: आइतबार, वैशाख २, २०८१  १०:३३
प्रतिक्रिया दिनुहोस्
Weather Update