Paschim Express
हिजो भाइको मृत्युमा भावुक भएका डडेल्धुराका बिक्कीले आज आफैं पाइरहेका छन् श्रद्धान्जली

डडेल्धुरा । गत बिहीबार राति डडेल्धुराको अमरगढी नगरपालिका–१ मालमका २६ वर्षीय विनोद दियालको मृत्यु भयो । हाल कैलालीको अत्तरिया बस्दै आएका उनको काठमाडौंमा अचानक मृत्यु भएको थियो । राति पेट दुखेको बताएका उनी केहीछिनमै यो संसार छाडेर गएका थिए । 

उनैलाई श्रद्धान्जली दिन अमरगढी–५ बस्ने विक्रम(बिक्की) ऐरले हिजो(शनिबार) फेसबुकमा एउटा पोष्ट लेखेका थिए । उनले लेखेका थिए, ‘‘एकदिन अगाडि मात्रै ‘दाई के भयो हजुरलाई सोध्ने अनि टेन्सन नलिनु भन्ने तिमी आज यो कुरा सुन्दा म निःशब्द भएँ भाइ । रेष्ट इन हेभेन ब्रो ।’’

4-1713090212.jpg

आफ्नो स्वास्थ्यप्रति चिन्ता व्यक्त गरेको भन्दै उनले विनोदलाई यसरी सम्झेका थिए । वास्तवमा विक्रमले उक्त फेसबुक पोष्ट अस्पतालको शैय्याबाट लेखेका थिए । किनभने केही दिनअघि उनी दुर्घटनामा परेर गम्भीर घाइते भएका थिए । 

गत चैत २० गते दिउँसो महेन्द्रनगरबाट डडेल्धुरातर्फ आउँदै गरेको ट्रकले मोटरसाइकलमा पेट्रोल हाल्न अमरगढी–१ ढुनढुनेतर्फ जाँदै गरेका उनलाई ठक्कर दिएको थियोे । दुर्घटनापछि घाइते भएका उनलाई उपचारका लागि डडेल्धुरा अस्पताल लगिएको थियो । तर, अस्पतालले अर्को दिन रेफर गरेपछि उनको उपचार हाल कैलालीको धनगढीस्थित मायामेट्रो अस्पतालमा उपचार भइरहेको थियो । 

उपचारकै क्रममा चैत २१ गते उनको पहिलो चरणमा खुट्टाको शल्यक्रिया भएको थियो । त्यस्तै चैत २६ गते उनको हातको पनि शल्यक्रिया गरिएको थियो । दुई शल्यक्रियापछि विक्रम बाँच्ने आश पलाएपछि बुवा विरबहादुर ऐरले आफ्ना देवताप्रति आभार प्रकट गर्दै फेसबुकमा पोष्ट शेयर गरेका थिए । 

3-1713090471.jpg

 

चैत ३० गतेको कुरा हो विक्रमका बुवाले आफ्नो छोराको अवस्था ठिक भइरहेको जनाउँदै  फिजियो थेरापी र दाँतको उपचार एकसाथ भइरहेको जानकारी दिएका थिए । तर, उनको खुसी एकदिन पनि टिक्न सकेन । 

2-1713090236.jpg

सधैं छोराको स्वास्थ्य अवस्थाको बारेमा जानकारी दिने उनले आज केही लेखेका छैनन् । किनकी उनका छोराले यो संसार छाडिसकेका छन् । टाउकोमा रगत जमेका कारण अस्पतालमै ढलेका उनको निधन भइसकेको छ । मायामेट्रोका चिकित्सकले टाउकोमा रगत जमेकै कारण विक्रमको मृत्यु भएको बताएका छन् । उनको शव पोष्टमार्टमपछि गृहजिल्ला डडेल्धुरा ल्याउने तयारी छ । 

विक्रमका बुवासहित घरमा आमा र एक दाई छन् । विवाहित विक्रमका एक छोरा पनि छन् । एकदमै मिलनसार व्यवहार भएका बिक्कीको निधन भएपछि अहिले उनका साथीभाई तथा आफन्तले सामाजिक सञ्जालमार्फत श्रद्धान्जली दिइरहेका छन् । 

प्रकाशित मिति: आइतबार, वैशाख २, २०८१  १६:१३
प्रतिक्रिया दिनुहोस्
Weather Update