Paschim Express
गड्डाचौकी, ब्रह्मदेव र झुलाघाट नाका आजदेखि तीन दिन बन्द

काठमाडाैं । कञ्चनपुरको गड्डाचौकी, ब्रह्मदेव र बैतडीकाे झुलाघाट नाका तीन दिन बन्द हुने भएको छ ।  दुवै जिल्लाका  प्रशासन कार्यालयले  एक सूचना जारी गरी भारतको उत्तराखण्ड प्रदेशसित जोडिएका ती नाका बन्द हुने जानकारी दिएको छ ।

उत्तराखण्ड चम्पावत जिल्लासँग जोडिएका दुई नाका मंगलबार साँझ सवा ५ बजेदेखि बन्द हुने सूचनामा उल्लेख छ । कञ्चनपुरका निमित्त प्रमुख जिल्ला अधिकारी धर्मराज जोशीले भारतमा लोकसभा निर्वाचनअन्तर्गत चम्पावत जिल्लामा प्रथम चरणको मतदान हुने भएकाले नाका गर्न लागिएको बताए ।

सूचनाअनुसार, मंलबार साँझ ५ः१५ बजेदेखि मतदान समाप्त हुँदासम्म नेपाल–भारत सीमा नाका पूर्ण बन्द हुनेछन् । ‘स्वास्थ्य सेवाबाहेक अन्य पूर्ण रूपमा बन्द रहनेछन्,’ उनले भने, ‘त्यसका लागि भारतको चम्पावतमा रहेको मजिस्ट्रेटले प्रशासन कार्यालयलाई पत्राचार गरेको छ ।’

सुरक्षा संवेदनशीलताको कारण नाका बन्द हुन लागेको हो ।  सीमा बन्द रहेको अवधिमा आकस्मिक रूपमा खोल्नुपरेमा आपसी सहमतिमा खोल्न सकिने जिल्ला प्रशासन कार्यालय  बैतडीले  जनाएको छ। 

प्रकाशित मिति: मंगलबार, वैशाख ४, २०८१  १०:०७
प्रतिक्रिया दिनुहोस्
Weather Update