Paschim Express
सुदूरपश्चिममा मुख्यमन्त्री नियुक्तिमा ढिलाई, सकसमा प्रदेश प्रमुख 

डडेल्धुरा । सुदूरपश्चिममा मुख्यमन्त्री नियुक्तिमा ढिलाई भएको छ । नागरिक उन्मुक्ति पार्टीको आन्तरिक विवादले एउटै पार्टीबाट दुई जनाले दाबेदारी प्रस्तुत गरेसँगै दुई दिन बित्दा पनि प्रदेश प्रमुख नाजिर मियाँले मुख्यमन्त्री नियुक्त गर्न नसकेका हुन् । 
नाउपाका संसदीय दलका नेता घनश्याम चौधरीले आफ्नो पार्टीको बहुमत सदस्य सात जनामध्ये पाँच जनाको समर्थनमा लक्ष्मणकिशोर चौधरीलाई मुख्यमन्त्रीका लागि अघि बढाएका छन् । 

प्रदेशसभा सदस्य लक्ष्मणकिशोरलाई नेपाली कांग्रेसको १८, नाउपाका पाँच, नेकपा (एकीकृत समाजवादी) का चार र राप्रपाका एक गरेर २८ जनाको समर्थन छ । यद्यपि लक्ष्मणकिशोर पक्षले उन्मुक्ति पार्टीको सातै जना सदस्य आफ्नो पक्षमा रहेको दाबीसहित प्रदेश प्रमुख मियाँसमक्ष दाबेदारी प्रस्तुत गरेको छ । 

सातै जनालाई जोड्दा लक्ष्मणकिशोरको पक्षमा प्रदेशसभा सदस्यको सङ्ख्या ३० पुग्छ । ५३ जना सदस्य रहेको सुदूरपश्चिम प्रदेशसभामा सरकार बनाउन २७ जना सदस्यको समर्थन चाहिन्छ । प्रदेश सभामा हाल ५२ जना कायम छन् ।

यस्तै नाउपाका अध्यक्ष रञ्जिता श्रेष्ठले तोकेका दलका नेता कैलाश चौधरीलाई नेकपा (एमाले) १०, नेकपा (माओवादी केन्द्र) १० र स्वतन्त्र एक जनाको समर्थन छ । 

नेता कैलाशले पनि आफ्नो पक्षमा नाउपाका छ जना रहेको दाबी गरेका छन् । उनले गरेको दाबीअनुसार सरकार बनाउन आवश्यक पर्ने २७ जना पुग्छ तर कैलाशको पक्षमा उन्मुक्तिका उनीसहित दुई जना मात्र मुख्यमन्त्रीको दाबेदारीका लागि पुगेको बताइएको छ । 

कैलाशले उन्मुक्तिकै समानुपातिक प्रदेशसभा सदस्य इन्दिरा गिरीलाई प्रदेशसभा सदस्यबाट हटाइएको भन्दै आफ्नो पक्षमा जोडेका थिएनन् । तर सर्वोच्च अदालतले इन्दिराका पक्षमा अन्तरिम आदेश गरेको छ । अन्तरिम आदेशपछि उनी फेरि प्रदेशसभा सदस्यमा बहाल भएकी छिन् । 

पार्टी अध्यक्ष श्रेष्ठको पत्राचारपछि प्रदेश सभाले उनलाई पदबाट हटाएको थियो । अध्यक्ष श्रेष्ठले संसदीय दलका नेता घनश्यामलाई पनि तीन महिनाका लागि निलम्बन गरी कैलाशलाई दलको नेता बनाएको पत्र प्रदेशसभामा पठाएकी थिइन् । तर, प्रदेश सभाले सो पत्रका सम्बन्धमा कुनै कारबाही गरेको छैन । 

नाउपाका अध्यक्ष श्रेष्ठले आइतबारै प्रदेश प्रमुख मियालाई भेटेर आफ्नो पार्टी कैलाशको पक्षमा रहेकाले उनलाई मुख्यमन्त्री नियुक्त गर्न आग्रह गरेकी थिइन् । प्रदेश संसदीय दलमा रहेका पाँच जनाले आफूहरू लक्ष्मणकिशोरको पक्षमा रहेको र संसद्मा पार्टी होइन, संसदीय दलको बहुमतको अर्थ हुने धारणा प्रदेश प्रमुख मियासमक्ष राखेका थिए ।

कांग्रेसका प्रमुख सचेतक विक्रम धामीले आफूहरूले बहुमत सदस्यसहित लक्ष्मणकिशोरलाई मुख्यमन्त्री बनाउनका लागि पहिले दाबेदारी प्रस्तुत गरेको बताए । प्रदेश प्रमुखले रोकेर राख्नु अभिभावकीय भूमिका निर्वाह नगरेको गुनासो उनको छ । एमालेका प्रदेशसभा सदस्य धर्मराज पाठकले एउटै पार्टीबाट दुई जनाले मुख्यमन्त्रीमा दाबेदारी प्रस्तुत गरेको अवस्थामा प्रदेश प्रमुखले राय, परामर्श लिएर केही दिन ढिला मुख्यमन्त्री नियुक्त गर्नसक्ने धारणा राखे । 

मुख्यमन्त्री कमलबहादुर शाहले विश्वासको मत प्राप्त गर्न नसकेर चैत २२ गते राजीनामा दिएका थिए । 

प्रकाशित मिति: मंगलबार, वैशाख ४, २०८१  ११:५५
प्रतिक्रिया दिनुहोस्
Weather Update