Paschim Express
बैतडीमा भतिजीमाथि पटकपटक बलात्कार, गर्भपतन गर्न नमानेपछि हत्या 

बैतडी । बैतडीमा आफ्नै भतिजीलाई जबरजस्ती करणी गरि हत्या गरेको आरोपमा ३० वर्षीय युवक पक्राउ परेका छन् । जिल्लाको पुरचौडी नगरपालिका बस्ने १७ वर्षीया सहोदर भतिजीमाथि पटकपटक जबरजस्ती करणी गरेको र गर्भवती भएपछि हत्या गरेको भन्दै एक युवकलाई पक्राउ गरिएको हो । 

गत चैत २६ गतेदेखि घरबाट हराएकी किशोरी तीन दिनपछि जङ्गलमा मृत फेला परेकी थिइन् । लगत्तै अनुसन्धान सुरु गरेको प्रहरीले युवतीको शव डडेल्धुरा अस्पतालमा लगेर परीक्षण गर्दा १८ हप्ताको गर्भ रहेको र टाउकोमा चोटका कारण मृत्यु भएको खुलेको जनाएको छ । 

जिल्ला प्रहरी कार्यालयले मंगलबार पत्रकार सम्मेलनमार्फत घटनामा संलग्न युवकलाइ सार्वजनिक गरेको छ । अनुसन्धानका क्रममा युवतीका काकाले पटकपटक जबरजस्ती करणी गरि गर्भवती बनाएको र नियोजित रुपमा जंगलमा लगेर हत्या गरेको खुलेको बैतडीका प्रहरी नायब उपरीक्षक दिपक गिरीले बताए । 

सोमबार पुरचौडीबाट पक्राउ परेका युवकबिरुद्ध हाडनाता करणी र कर्तब्य ज्यान मुद्धा चलाएर प्रहरीले अनुसन्धान अघि बढाएको छ । मृतक किशोरीले एक वर्षअघि भागेर स्थानीय युवकसँग बिहे गरेकी थिइन् । हाल उनका श्रीमान रोजगारीका क्रममा ८ महिनादेखि भारतमा रहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: मंगलबार, वैशाख ४, २०८१  १५:२५
प्रतिक्रिया दिनुहोस्
Weather Update