Paschim Express
सुदूरपश्चिमको मुख्यमन्त्रीमा दुवै दाबी अस्वीकृत, प्रदेश प्रमुखले दिए थप २ दिन

डडेल्धुरा । सुदूरपश्चिमका प्रदेश प्रमुख नजिर मियाँले मुख्यमन्त्रीका लागि परेका दुवै दाबी अस्वीकृत गरेका छन् ।

सुदूरपश्चिमको मुख्यमन्त्रीमा आइतबार नागरिक उन्मुक्ति पार्टीको रेशम चौधरी पक्षका लक्ष्मणकिशोर चौधरीले नेपाली कांग्रेस र एकीकृत समाजवादीको समर्थनमा र नाउपाकै रञ्जिता चौधरी पक्षका कैलाश चौधरीले एमाले र माओवादी केन्द्रको समर्थनमा मुख्यमन्त्रीमा दाबी पेश गरेका थिए ।

तर दुई दिनपछि प्रदेश प्रमुख नजिर मियाले दुवै जनाको दाबी नपुगेको भन्दै पुनः २ दिन समय दिएर फेरि दाबी पेश गर्न दलहरूलाई आह्वान गरेका हुन् ।

मियाँले संविधानको धारा १६८ को (२) अनुसार मुख्यमन्त्रीमा दाबी पेश गर्न ६ वैशाखको साँझ ५ बजेसम्म समय दिएको प्रदेश प्रमुखको कार्यालयका सूचना अधिकारी दीर्घराज भट्टले जानकारी दिए ।

यसअघि प्रदेश प्रमुख मियाँले बैशाख २ गते बेलुकी ५ बजेसम्म मुख्यमन्त्रीको दाबी पेश गर्ने समय तोकेका थिए । बैशाख २ गते सत्ता गठबन्धनलाई चुनौती दिदै काँग्रेसका १८, समाजवादीका ४, राप्रपाका १ र नागरिक उन्मुक्तिका ७ जना प्रदेशसभा सदस्यको समर्थन रहेको भन्दै उन्मुक्तिका लक्ष्मणकिशोर चौधरीले मुख्यमन्त्रीमा दाबी पेश गरेका थिए । 

त्यस लगत्तै नागरिक उन्मुक्तिकै कैलाश चौधरीले पनि माओवादीका ११, एमालेका १०, नागरिक उन्मुक्तिका ७ जना र स्वतन्त्र प्रदेश सभा सदस्यको समर्थन रहेको भन्दै दाबी पेश गरेका थिए । 

मुख्यमन्त्रीमा नागरिक उन्मुक्तिबाटै २ जनाको दाबी परेपछि प्रदेश प्रमुखले दलहरुसँग अध्ययनका लागि २ दिनको समय मागेका थिए ।

प्रदेश प्रमुख मियाँले दुबैको दाबी खारेज गरी बैशाख ६ गते बेलुकी ५ बजेसम्म स्पष्ट बहुमत खुल्ने गरी मुख्यमन्त्रीमा दाबी पेश गर्न सूचना जारी गरेका छन् ।

५३ प्रदेश सभा सदस्य रहेको सुदूरपश्चिममा १ जनाको निधन भएपछि अहिले ५२ प्रदेश सभा सदस्य छन् । काँग्रेस १८, माओवादी सभामुख सहित ११, नेकपा एमाले उपसभामुख सहित १०, नागरिक उन्मुक्ति पार्टी ७, समाजवादी ४, राप्रपा १ र स्वतन्त्र १ जना सदस्य छन । सरकार बनाउनका लागि २७ जनाको बहमुत आवश्यक पर्छ ।

प्रकाशित मिति: मंगलबार, वैशाख ४, २०८१  १८:००
प्रतिक्रिया दिनुहोस्
Weather Update