Paschim Express
भूकम्प प्रभावित जाजरकोटमा शैक्षिक सामग्री वितरण

डडेल्धुरा । भूकम्प प्रभावित जाजरकोटका ५ सय जना विद्यार्थीहरूलाई सहयोग गरिएको छ । इन्टेल अमेरिकामा कार्यरत नेपालीहरू र ओरेगन नेपाली समाजको सहयोग एवम् प्राज्ञिक विद्यार्थी परिषद् नेपालको समन्वयमा शैक्षिक सामग्री र न्यानो कपडा वितरण गरिएको हो ।

जाजरकोट जिल्लाको बारेकोट गाउँपालिका वडा नम्बर ६ मा रहेको सीता माध्यमिक विद्यालयमा अध्ययनरत ५ सय जना विद्यार्थीलाई शैक्षिक सामग्री तथा न्यानो कपडा वितरण गरिएको हो । मंगलबार विद्यालयको प्राङ्गणमा एक कार्यक्रमको आयोजना गर्दै सहयोग हस्तान्तरण गरिएको हो ।

उक्त कार्यक्रममा प्राज्ञिक विद्यार्थी परिषद् नेपालका राष्ट्रिय संगठन सचिव नारायणप्रसाद ढकाल, ओरेगन नेपाली समाज अमेरिकाका अध्यक्ष नारायण गुरुङ, सीता माध्यमिक विद्यालयका प्राचार्य गोरखबहादुर सिंह, विद्यालय व्यवस्थापन समिति अध्यक्ष टेकेन्द्र नेपाली, विद्यार्थी परिषद्का सगरमाथा र जानकी प्रदेश संगठन सचिव तथा केन्द्रीय विश्वविद्यालय कार्य प्रमुख छितराज न्यौपाने, विद्यार्थी परिषद्का सुदूरपश्चिम र कर्णाली प्रदेश संगठन सचिव तथा राष्ट्रिय जनजाति कार्य प्रमुख चन्द्रशेखर जोशी,बारेकोट ५ नम्बरका वडा अध्यक्ष गोरखबहादुर थापा, केन्द्रीय सदस्य प्रकाश शर्मा, विरिजित बोहरा, कर्णाली प्रदेश कार्यसमिति सदस्य नवीन गिरी, बिष्णु कार्की, विद्यालयका शिक्षक, अभिभावक तथा जनप्रतिनिधि लगायतको उपस्थिति रहेको थियो ।

प्राचार्य गोरखबहादुर सिंहले विद्यार्थीहरूको शिक्षण सिकाई क्रियाकलापमा टेवा पुर्‍याउने कार्यक्रम गरेकोमा प्राज्ञिक विद्यार्थी परिषद् नेपाल र ओरेगन नेपाली समाजलाई धन्यवाद एवम् आभार प्रकट गरे । उक्त कार्यक्रममा ओरेगन नेपाली समाज अमेरिकाका अध्यक्ष नारायण गुरुङले जाजरकोटमा भुकम्प जादा विदेशमा रहेका नेपालीहरूको मुटु कामिरहेको र भुकम्प प्रभावित विद्यार्थीहरूलाई सानो भए पनि सहयोग गर्न र प्रत्येक्षरूपमा भेट्न पाउदा आनन्द आएको बताए ।

परिषद्का राष्ट्रिय संगठन सचिव नारायणप्रसाद ढकालले विद्यार्थीहरू राष्ट्रका वर्तमान र भविष्य भएकाले असल व्यक्ति निर्माणमा सबैले विशेष ध्यान दिनुपर्ने बताउदै विद्यार्थी परिषद्ले निरन्तर सेवा कार्य गरिरहेको उल्लेख गरे । उक्त कार्यक्रममा विद्यार्थी परिषद्का राष्ट्रिय संगठन सचिव ढकाल र ओरेगन नेपाली समाज अमेरिकाका अध्यक्ष गुरुङलाई अभिनन्दन तथा सम्मान पत्र सहित विद्यालय परिवारले सम्मान गरेको केन्द्रिय सदस्य प्रदीप भट्टले जानकारी दिए ।

प्रकाशित मिति: मंगलबार, वैशाख ४, २०८१  १८:३५
प्रतिक्रिया दिनुहोस्
Weather Update