Paschim Express
एमालेले सोडारीलाई मुख्यमन्त्री दिन नमानेपछि फेरि अन्याेलमा सुदूरपश्चिम सरकार गठन

कैलाली । कांग्रेससँग समीकरण गर्न तम्तयार रहेको एकीकृत समाजवादीलाई मुख्यमन्त्री दिने सहमति भएपनि सुदूरपश्चिम सरकार गठनमा फेरि अर्को अडचन आइपरेको छ ।

केन्द्रीय सत्ता गठबन्धनविरुद्ध विद्रोह गरेपछि गठबन्धनका शीर्ष नेताहरुबीच मंगलबार बिहान सुदूरपश्चिममा एकीकृत समाजवादीलाई मुख्यमन्त्री दिने समझदारी भएको थियो । सोही समझदारी अनुसार एकीकृत समाजवादीको संसदीय दलका नेता दीर्घ सोडारीलाई मुख्यमन्त्रीमा दिने निर्णय भएको थियो ।

तर, समाजवादीको उक्त निर्णयलाई नेकपा एमाले मान्न तयार छैन । एमालेले मुख्यमन्त्रीमा दाबी पेस गर्ने व्यक्तिका विषयमा चासो राखेपछि अन्यौलता उत्पन्न भएको स्रोतले जनाएको छ । सोडारीसँग पहिलेदेखि रुष्ट एमालले प्रकाश रावलप्रति भने सकारात्मक रहेको बताइएको छ ।

मंगलबार एकीकृत समाजवादीको नेतृत्वमा एमाले, माओवादी केन्द्र, नागरिक उन्मुक्ति (रञ्जिता पक्ष) र स्वतन्त्र सांसदको समर्थनमा बुधबार बिहान दाबी पेस गर्ने तयारी गरिएको थियो । तर एमालेले सोडारीलाई मुख्यमन्त्रीमा समर्थन गर्न नसकिने अडान लिएपछि सरकार गठनमा पुनः अन्यौलता उत्पन्न भएको छ ।

सोही विषयमा अहिले एकीकृत समाजवादी र एमालेका शीर्ष तहका नेताहरु छलफल गरिरहेका छन् ।

यसअघि मुख्यमन्त्री पाउने भएपछि कांग्रेससहितको समर्थनमा नागरिक उन्मुक्तिका लक्ष्मण किशोर चौधरीलाई मुख्यमन्त्रीको दाबी पेसमा गरिएको समर्थन एकीकृत समाजवादीले मंगलबार फिर्ता लिएको थियो ।

प्रदेश प्रमुखले यसअघिको दाबी पेस आह्वानमा नागरिक उन्मुक्तिकै दुई जनाको दाबी पेस हुन आएकोले निष्कर्षमा पुग्न नसकिएको जनाउँदै बिहीबारसम्मको म्याद दिएर संविधानको धारा १६८ ९२० अनुसार मंगलबार पुनः दाबी पेस गर्न आह्वान गरिसकेका छन् ।

प्रकाशित मिति: बुधबार, वैशाख ५, २०८१  १०:४४
प्रतिक्रिया दिनुहोस्
Weather Update