Paschim Express
भूकम्पको उच्च जोखिममा सुदूरपश्चिम, ६ महिनामा १५ धक्का

डडेल्धुरा । ०७९ साल कात्तिक २२ गते राति २ बजेर १२ मिनेटमा डोटीस्थित खप्तड राष्ट्रिय निकुञ्ज क्षेत्रमा केन्द्रबिन्दु बनाएर ६.६ रेक्टर स्केलको भूकम्प गयो । सिंगो सुदूरपश्चिमसहित कर्णाली र लुम्बिनी प्रदेशसंगै छिमेकी मुलुक भारतमा पनि भूकम्पको धक्का महसुस भयो ।

भूकम्पका कारण डोटीको पूर्बीचौकी गाउँपालिका–३ गैरागाउँका ६ जनाको मृत्यु भयो । ७ जना घाइते भए । सयौं घर भत्किएका थिए । भूकम्पले थिलोथिलो भएको उक्त क्षेत्र अहिले विस्तारै लयमा फर्किन थालेको छ । 

मंगलबार दिउसो डोटीसंगै सीमाना जोडिएको बझाङ केन्द्रबिन्दु बनाएर दुई पटक भूकम्प गएको छ । पहिलोपटक २ बजेट ४० मिनेटमा जिल्लाको तलकोट केन्द्रबिन्दु बनाएर ५.३ र दोस्रोपटक चैनपुर आसपासको क्षेत्रलाई केन्द्रबिन्दु बनाएर ६.३ रेक्टर स्केलको भूकम्प गएको हो ।

भूकम्पका कारण मानविय क्षति नभए पनि भौतिक संरचनामा ठुलो क्षति पुगाएको जिल्ला प्रहरी कार्यालय बझाङका प्रहरी नायब उपरीक्षक भरतबहादुर शाहले बताए । ‘भूकम्पका कारण मानविय क्षति नभए पनि दजनौं भौतिक संरचना भत्किएका छन्,’ उनले भने, ‘१८ जना घाइते भएका छन् भने एक जना महिला बेपत्ता भएकी छिन् । घाइतेको स्थानीय स्वास्थ्यचौकीमा उपचार भइरहेको छ ।’

उनका अनुसार जयपृथ्वी नगरपालिका–११ ओखल गाउँकी गुनदेवी धामी भूकम्पसंगै आएको पहिरोमा परेर बेपत्ता भएकी हुन् । ‘टिमुर टिप्न गाउँ नजिकैको जंगलमा गएकी थिइन, सोही समयमा भूकम्पका कारण आएको पहिरोमा परेर उनी बेपत्ता भएकी छिन् । खोजी कार्य जारी छ,’ डिएसपी शाहले भने । यस्तै जयपृथ्वी नगरपालिका, मष्टा गाउँपालिका, केदारस्युँ, छबिसपाथिभेरा, खप्तडछान्ना र वित्थडचिर गाउँपालिकामा गरी १८ जना घाइते भएका छन् । 

दुई पटक आएको भूकम्पका कारण तीन दर्जन भवनमा क्षति पुगाएको डिएसपी शाहले बताए । ‘विद्यालय, वडा कार्यालयसहित सरकारी र निजी गरी तीन दर्जन भवनमा भत्किएका छन्,’ उनले भने, ‘भूकम्प प्रभावित नागरिकलाई सुरक्षित स्थानमा सार्ने काम भने जारी छ ।’ भूकम्पपछि गएको सुख्खा पहिरोका कारण जयपृथ्वी राजमार्ग पनि अवरुद्ध भएको डिएसपी शाहले बताए ।

उनका अनुसार जयपृथ्वी नगरपालिकाको माल्लालाग्ना भिरमा र छबिसपाथिभेरा गाउँपालिकाको जालेबगरमा गएको सुख्खा पहिरोले राजमार्ग अवरुद्ध भएको  हो । यस्तै भूकम्पकै कारण तलकोट गाउँपालिकाको सुनिकोट मावि, जयपृथ्वी नगरपालिकाको सत्यवादी मावि, बाल विकास मावि गोलाईको भवन पनि भत्किएको छ । ‘पहिलो भूकम्प आएपछि विद्यार्थीलाई घर पठाउँदा ठूलो क्षति हुन पाएन,’ शिक्षक नरेन्द्र उपाध्यायले भने ।

मंगलबार आएको पहिलो भूकम्पको केन्द्रबिन्दु रहेको तलकोट गाउँपालिकामा धेरै क्षति भएको छ । गाउँपालिकाकी उपाध्यक्ष पार्वतीकुमारी भण्डारीले भौतिक संरचनामा ठूलो क्षति भएको जानकारी दिइन् ।  ‘भूकम्पले भौतिक संरचना ध्वस्त नै बनाइदिएको छ । वडा नम्बर १ को कार्यालय भत्किएको छ । विद्यालयका भवन पनि ध्वस्त भएका छन् । बचेका विद्यालय भवनमा पनि चिरा परेको छ,’ उपाध्यक्ष भण्डारीले भनिन् ।

उनका अनुसार दुई पटक आएको भूकम्पपछि पनि निरन्तर परकम्प गइरहेको छ । ‘भूकम्पले भौतिक संरचनामा ठुलो क्षति पुगाएपछि हामी पनि अहिले घरभित्र जान सकेका छैनौं,’ उनले भनिन्। पश्चिम नेपालदेखि भारतको दिल्लीसम्मको भूभागमा भविष्यमा एउटा ठूलो भूकम्प आउन सक्ने खतरा बढेको वैज्ञानिकहरुले चेतावनी दिँदै आएका छन् ।

०७२ बैशाख महिनामा नेपालमा गएको विध्वंशकारी भूकम्पमा पृथ्वीमुनि सञ्चित सबै तनाव निस्कन नसकेको र त्यो पश्चिमतर्फ सरेको उनीहरुले जनाएका छन् । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार सुदूरपश्चिम प्रदेशमा ६ महिनाको अवधिमा १५ वटा भूकम्मको धक्का मापन भएको छ । अन्य पराकम्प भने दर्जनौं गएको केन्द्रले जनाएको छ ।

प्रकाशित मिति: बुधबार, असोज १७, २०८०  ०८:११
प्रतिक्रिया दिनुहोस्
Weather Update