Paschim Express
डडेल्धुरामा निशुल्क, सर्वसुलभ र रोजगारमूलक शिक्षा प्रणाली स्थापित गर्न नेविसंघको आग्रह

डडेल्धुरा । नेपाल विद्यार्थी संघ डडेल्धुराले निशुल्क, सर्वसुलभ र रोजगारमूलक शिक्षा प्रणाली स्थापित गर्न स्थानीय तहलाई आग्रह गरेको छ । नेविसंघको ५५औं स्थापना दिवसको अवसरमा स्थानीय तहलाई ज्ञापनपत्र बुझाउँदै यस्तो आग्रह गरिएको हो ।

विद्यार्थीका हकहित, निशुल्क र सर्वसुलभ शिक्षा सँगै शिक्षा प्रणालिको सुधार, समयानुकुल विकास र रुपान्तरण गरि शिक्षालाई सीपसँग, सीपलाई रोजगारिसँग, रोजगारिलाई आयआर्जन तथा उत्पादनसँग जोड्ने नीति बनाउन पनि जिल्लाका स्थानीय तहलाई आग्रह गरिएको छ । नेविसंघ डडेल्धुराका अध्यक्ष पवन ऐरका अनुसार शिक्षाका सवालमा संविधानले प्रत्याभुत गरेका मौलिक हकको व्यवहारिक कार्यान्वयनसंगै निशुल्क, सर्वसुलभ, रोजगारमूलक शिक्षा प्रणाली स्थापित गराउन पनि पालिकाहरुलाई आग्रह गरिएको छ । 

ज्ञापनपत्रमा नेपालको संविधानको धारा ३१ मा व्यवस्था भएका शिक्षा सम्वन्धी मौलिक हकहरुको पूर्णरुपमा कार्यान्वयन गर्न माग गरिएको छ । आभारभूत तहसम्मको शिक्षा अनिवार्य र निशुल्क तथा माध्यमिक तहसम्मको शिक्षा निशुल्क पाउने हकको पूर्णरुपमा विद्यालयहरुमा कार्यान्वयन गराउनका लागि आवश्यक नीति तथा कार्यक्रम बनाउन पनि नेविसंघ डडेल्धुराले पालिकाहरुलाई आग्रह गरेको छ ।

यस्तै, सबै विद्यालयमा निशुल्क शुद्ध खानेपानी, सुविधासम्पन्न अपांग तथा महिलामैत्रि शौचालयको व्यवस्था गर्न र छात्रा विद्यार्थीहरुका लागि निशुल्क स्यानिटरी प्याडको व्यवस्था गर्न, सुविधासम्पन्न खेलकुद मैदान, ई–लाइब्रेरी र डिजिटल कक्षा कोठाको व्यवस्था गर्न पनि माग गरिएको छ ।

पालिकाको कुल बजेटको २० प्रतिशत बजेट शिक्षा क्षेत्रमा छुट्याउन, सबै विद्यार्थीहरुको अनिवार्य स्वास्थ्य बीमा गराउनका लागि बजेटको व्यवस्था गर्न, सबै विद्यालयमा खेल तथा व्यायाम प्रशिक्षकको व्यवस्था गर्न, हरेक विद्यालयमा हप्ताको एकदिन अतिरिक्त क्रियाकलापका लागि शैक्षिक क्यालेन्डर बनाएर लागू गर्न, निजी विद्यालय र क्याम्पसलाई मापदण्डअनुसार सञ्चालन गर्न, १० प्रतिशत विद्यार्थीलाई अनिवार्य पूर्ण छात्रवृत्ति दिनुपर्ने व्यवस्थाको कार्यान्वयन गर्न, शिक्षकहरुलाई वर्षमा दुई पटक अनिवार्य विकसित शिक्षण सिकाइ पद्धति, प्रविधि र विषयगत प्रशिक्षण दिने व्यवस्था गर्न पनि माग गरिएको नेविसंघ डडेल्धुराका अध्यक्ष ऐरले बताए । 

उनका अनुसार विद्यालयहरुको भौतिक संरचनाको अवस्थाको प्राविधिकमार्फत अनुगमन गराई आवश्यक पूर्वाधारको निर्माण र विकासका लागि बजेटको व्यवस्था गर्न र तत्काल असुरक्षित रहेका विद्यालका संरचनाहरुलाई मर्मत गरि विद्यार्थीलाई निर्धक्क तथा सुरक्षित वातावरणमा पढ्ने व्यवस्था गर्न पनि माग गरिएको छ । जिल्ला अध्यक्ष ऐरका अनुसार अमरगढी नगरपालिकाका मेयर डिल्लीराज जोशी र उपमेयर पार्वती झुकाललाई ज्ञापनपत्र बुझाइएको छ भने अन्य पालिकाहरुलाई पनि बुझाउने तयारी छ । 
 

प्रकाशित मिति: बिहीबार, वैशाख ६, २०८१  ११:४२
प्रतिक्रिया दिनुहोस्
Weather Update