Paschim Express
सुदूरपश्चिममा नेकपा एसलाई मुख्यमन्त्री दिन कांग्रेस तयार

काठमाडौँ । सुदूरपश्चिममा सरकार गठनका विषयमा सत्ता गठबन्धनमा खटपट भइरहेका बेला प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले भने नेकपा एकीकृत समाजवादीलाई मुख्यमन्त्री लिएर सरकारको नेतृत्व गर्न प्रस्ताव गरेको छ ।

यसअघि नेकपा एस र कांग्रेसको समर्थनमा नागरिक उन्मुक्ति पार्टीका लक्ष्मणकिशोर चौधरीले मुख्यमन्त्रीमा दाबी पेस गरेका थिए । गठबन्धनमा मुख्यमन्त्री पाउने गरी नेकपा एसले समर्थन फिर्ता लिए पनि कांग्रेसले फेरि नेकपा एसका संसदीय दलका नेता दीर्घ सोडारीलाई नै मुख्यमन्त्री बनाउने गरी प्रस्ताव गरेको हो ।

कांग्रेस सभापति शेरबहादुर देउवाले बुधबार बेलुका नेकपा एसका अध्यक्ष माधवकुमार नेपाललाई भेटेर सुदूरपश्चिमबाट नयाँ सहकार्यको सुरुवात गर्न प्रस्ताव गरेका थिए । देउवा र नेपालबीच गल्फुटारस्थित कांग्रेस केन्द्रीय सदस्य नारायण खड्काको निवासमा बुधबार साँझ ६ बजेदेखि करिब एक घण्टा संवाद भएको थियो । भेटमा सुदूरपश्चिम प्रदेशमा सरकार गठनदेखि कोशी र अन्य प्रदेश तथा केन्द्रीय राजनीतिका विषयमा समेत छलफल भएको थियो ।

नेपालसँग छलफलपछि सभापति देउवाले बिहीबार बिहानैदेखि पार्टीका नेताहरुसँग छलफल गरिरहेका छन् । देउवाले अहिले बिहान बुढानिलकण्ठस्थित आफ्नै निवासमा पार्टीका पदाधिकारी र पूर्वपदाधिकारीहरुसँग समेत परामर्श गरेका छन् । सभापति देउवाले प्रदेश सरकारहरुका विषयमा कानूनविद्सँग समेत छलफल गरेका छन् ।

नेकपा एसले प्रदेशसभा संसदीय दलका नेता दीर्घ सोडारीलाई मुख्यमन्त्रीका रुपमा अघि बढाउने निर्णय गरिसकेको छ । तर सोडारीलाई मुख्यमन्त्री बनाउन एमाले अध्यक्ष केपी शर्मा ओलीले अनिच्छा देखाएका छन् । एमालेको अडानका कारण बिहीबार बिहानसम्म सुदूरपश्चिममा मुख्यमन्त्रीका लागि दाबी पेस गर्नेबारे गठबन्धन नै अनिर्णित छ ।

सुदूरपश्चिममा प्रदेश मियाँले दोश्रोपटक बहुमतको सरकार गठनका लागि दिएको समयसीमा आज बेलुका ५ बजे सकिँदैछ । प्रदेश प्रमुख नजिर मियाँले दुवै दाबी खारेज गरी नयाँ सरकार गठनका लागि गरेको आह्वानको समयसीमा पनि आज साँझ सकिँदैछ।

५३ सदस्यीय सुदूरपश्चिम प्रदेशसभामा हाल ५२ जना छन् । कांग्रेसका १८, एमाले र सभामुखबाहेक माओवादीका १०–१०, नागरिक उन्मुक्तिका ७, एकीकृत समाजवादीका ४ र एक जना स्वतन्त्र सांसद रहेका छन् । बहुमत पुर्‍याउन कम्तीमा २७ सांसदको आवश्यकता रहेको छ ।

प्रकाशित मिति: बिहीबार, वैशाख ६, २०८१  १२:३१
प्रतिक्रिया दिनुहोस्
Weather Update