Paschim Express
सुदूरपश्चिमको मुख्यमन्त्रीमा सोडारीको दाबी पेश, २७ प्रदेश सांसदको समर्थन

डडेल्धुरा । सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा नेकपा एकीकृत समाजवादीका संसदीय दलका नेता दीर्घबहादुर सोडारीले दाबी पेश गरेका छन् । प्रदेश प्रमुख नजिर मियाँले संविधानको धारा १६८ को उपधार २ बमोजिम दुई वा दुईभन्दा बढी दल मिलेर मुख्यमन्त्रीमा दाबी गर्न आह्वान गरेपछि सोडारीले आज मुख्यमन्त्रीमा दाबी पेश गरेका हुन् । 

संघीय समीकरणमा रहेका दल एमालेका १०, माओवादी केन्द्रका १०, समाजवादी चार, नागरिक उन्मुक्तीका सातमध्ये दुई जना र स्वतन्त्रका एक गरी २७ जनाको समर्थनमा मुख्यमन्त्री दाबी पेश गरिएको हो । 

सुदूरपश्चिममा नेकपा एकीकृत समाजवादीलाई मुख्यमन्त्री दिने सहमति भए पनि नेकपा एमालेले निर्णयमा ढिलाइ गर्दा बुधबार र बिहीबार बिहानसम्म मुख्यमन्त्रीको दाबेदारी प्रस्तुत हुन सकेको थिएन । एमालेले एकीकृत समाजवादीका  सोडारीलाई मुख्यमन्त्री बनाउन तयार भएपछि उनले दाबी पेश गरेका हुन् । 

प्रदेश प्रमुख मियाँले नागरिक उन्मुक्ती पार्टीकै दुईवटा दाबेदारीले मुख्यमन्त्री नियुक्तीमा निस्कर्षमा पुग्न नसकेको बताउदै बैशाख ४ गते दोस्रो पटक मुख्यमन्त्रीको दाबीका लागि आव्हान गरेका थिए । 

सुदूरपश्चिममा मुख्यमन्त्री कमलबहादुर शाहले विश्वासको मत नपाउने भएपछि चैत २२ गते पदबाट राजीनामा दिएका थिए । ५३ सदस्यीय प्रदेश सभामा हाल ५२ जना सदस्य रहेका छन् । 

प्रकाशित मिति: बिहीबार, वैशाख ६, २०८१  १६:१०
प्रतिक्रिया दिनुहोस्
Weather Update