Paschim Express
सुदूरपश्चिको चौथो मुख्यमन्त्री बने दीर्घ सोडारी, को हुन् उनी ?

डडेल्धुरा । सुदूरपश्चिम प्रदेशले चौथो मुख्यमन्त्रीको रुपमा दीर्घबहादुर सोडारीलाई पाएको छ । नेकपा (एकीकृत समाजवादी)का संसदीय दलका नेता सोडारीलाई प्रदेश प्रमुख नजिर मियाँले मुख्यमन्त्रीमा नियुक्त गरेका हुन् ।

उनले बिहीबार नै नेकपा एमाले (१०), नेकपा माओवादी केन्द्र (१०), एकीकृत समाजवादी (४), नागरिक उन्मुक्तिका (२) र एक जना स्वतन्त्र प्रदेशसभा सदस्यको समर्थनसहित मुख्यमन्त्रीका लागि दाबी पेश गरेका थिए । बिहीबार नै प्रदेश प्रमुख नजिर मियाँले संविधानको धारा १६८ (२) अनुसार सोडारीलाई मुख्यमन्त्री नियुक्त गरेका हुन्।

अघिल्लो प्रदेशसभामा ५ वर्षको पुरै कार्यकालमा माओवादी केन्द्रका त्रिलोचन भट्ट मुख्यमन्त्री थिए । पछिल्लो प्रदेशसभाको छोटो अवधिमा नै तेस्रो मुख्यमन्त्री नियुक्त भएका छन् सोडारी । उनी सुदूरपश्चिम प्रदेशका भने चौथो मुख्यमन्त्री बनेका छन् । 

को हुन् उनी ?
०३४ साल फागु १६ गते मंगलसेन नगरपालिक–१४ अछाममा जन्मिएका सोडारी ०५१ सालमा नेकपा (एमाले) निकट अनेरास्ववियुको कैलाली बहुमुखी क्याम्पस, प्रारम्भिक कमिटी उपाध्यक्ष बनेर राजनीतिमा सक्रिय भएका थिए । ०५८ सालमा पार्टीको जिल्ला कमिटी सदस्य बनेका उनी ०६३ मा जिल्ला सचिवालय सदस्य भएका थिए । ०६६ मा जिल्ला कमिटी सचिव र ०७० मा जिल्ला कमिटी अध्यक्ष भएका थिए । ०७० सालमा संविधानसभा सदस्यको उम्मेदवार रहेका उनी पराजित भएका थिए । 

०७४ सालमा प्रदेशसभामा एमालेबाट निर्वाचित भएका सोडारी त्रिलोचन भट्ट नेतृत्वको सरकारमा सामाजिक विकास मन्त्री भएका थिए । तर त्यहाँ उनी एक वर्ष पनि टिक्न सकेनन् । ०७५ कात्तिकमा सोडारीलाई पदबाट बर्खास्त गरिएको थियो ।

तत्कालिन एमालेका प्रदेश इन्चार्ज भीम रावलको निर्देशनपछि मुख्यमन्त्री भट्टले सोडारीलाई बर्खास्त गरेका थिए । सोडारीले पद अनुकुलको आचरण नगरेको र पटकपटक पार्टीको सुझाव अटेर गरेकाले पदबाट हटाउन निर्देशन दिइएको थियो । उनलाई सोही समयमा पार्टीको साधारण सदस्यसमेत नरहने गरी कारबाही पनि गरिएको थियो । 

तत्कालीन नेकपा एमालेका कैलाली जिल्ला अध्यक्ष सोडारी पार्टीभित्र घनश्याम भुसाल र योगेश भट्टराई निकटस्थ मानिन्थे । नेकपा (एमाले)बाट फुटेर नेकपा (एकीकृत समाजवादी) पार्टी बनाउँदा सुदूरपश्चिममा शिर्ष भुमिकामा थिए सोडारी ।

सो समयमा सुदूरपश्चिम प्रदेशसभामा उनले एकीकृत समाजवादीलाई सबैभन्दा ठूलो दल बनाएका थिए । एमालेका २५ जना प्रदेशसभा सदस्यमध्ये १४ जनालाई एकीकृत समाजवादीको पक्षमा सनाखत गर्न लगाएर सोडारीले ठुलो दल बनाएका थिए । त्यसपछि उनी त्रिलोचन भट्ट नेतृत्वको सरकारमा भौतिक पूर्वाधार विकासमन्त्री भएका थिए । 
 

प्रकाशित मिति: बिहीबार, वैशाख ६, २०८१  १८:५२
प्रतिक्रिया दिनुहोस्
Weather Update