Paschim Express
डडेल्धुरामा द्विजगंगा मेमोरियल टी–२० प्रतियोगिताकाे दोस्रो संस्करण हुँदै, कति छ पुरस्कार ?

डडेल्धुरा । डडेल्धुरामा दोस्रो संस्करणको जिल्लास्तरीय द्विजगंगा मेमोरियल पुरुष टी–२० क्रिकेट प्रतियोगिताको तयारी तिव्र पारिएकाे छ । 

डडेल्धुरा जिल्ला क्रिकेट संघको आयोजनामा दोस्रो संस्करणको जिल्लास्तरीय द्विजगंगा मेमोरियल टी–२० प्रतियोगितायही वैशाख २८ गतेदेखि सुरु हुने भएकाे हाे । डडेल्धुरा जिल्ला क्रिकेट संघका सचिव निरज रावलका अनुसार टिम दर्ता वैशाख २५ गते कार्यालय समयभित्र गरिसक्नुपर्ने छ । टिम दर्ता शुल्क १० हजार तोकिएको छ ।

यस वर्ष प्रतियोगिताको विजेता टिमले ७५ हजार रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र पाउने संघका सचिव रावलले बताए । उपविजेताले ५० हजारका साथै ट्रफी, मेडल र प्रमाणपत्र पाउनेछ । गतवर्ष विजेता टिमले ५१ हजार १ सय ५१ र उपविजेताले २५ हजार ५ सय ५१ रुयैयाँ पुरस्कार पाएका थिए ।

खेलको ‘म्यान अफ द म्याच’लाई एक हजार र ‘म्यान अफ द सिरिज’लाई पाँच हजार प्रदान गरिनेछ । प्रतियोगितामा सहभागी हुने सबै खेलाडी डडेल्धुरा जिल्लाको मात्र हुनुपर्नेछ वा डडेल्धुराबाट प्रदेशस्तरीय क्रिकेट प्रतियोगिताको खेल खेलिसकेको हुनुपर्ने आयोजकले जनाएको छ । प्रतियोगिताका खेलहरू आईसीसीको मापदण्डअनुसार खेलाइनेछ ।

उक्त प्रतियोगिताबाट यू–१९ लागि टिम छनोट गरिने आयोजकले जनाएको छ । १९ वर्षमुनिका खेलाडीले आफ्नो डकुमेन्ट सक्कल नै आयोजकलाई बुझाउनुपर्ने संघका सचिव रावलले जानकारी दिए । प्रतियोगिताका खेलहरू अमरगढी नगरपालिका–३ रामलिला खेल मैदानमा हुनेछन् ।

प्रतियोगिताको पहिलो संस्करणको उपाधि परशुराम नगरपालिकाले जितेको थियो । फाइनलमा आलिताल गाउँपालिकालाई ७ विकेटले हराउँदै परशुरामले उपाधि उचालेको थियो ।

प्रकाशित मिति: आइतबार, वैशाख ९, २०८१  १०:१२
प्रतिक्रिया दिनुहोस्
Weather Update