Paschim Express
सुदूरपश्चिममा भूकम्पमा परेर एकको मृत्यु, २७ घाइते, ३०० बढी घर भत्किए

काठमाडौं । हिजो(मंगलबार) बझाङ केन्द्रबिन्दु भएर गएको भूकम्पमा परेर सुदूरपश्चिम प्रदेशमा एकजनाको मृत्यु भएको छ भने घाइते हुनेको संख्या २७ पुगेको छ। 

टिमुर टिप्न मंगलवार दिउँसो गाउँनजिकैको जङ्गलमा गएकी जयपृथ्वी नगरपालिका–११ ओखल गाउँकी ४० वर्षीया गुनमति धामीको शव आज (बुधबार) फेला परेको हो।

पहिरोमा च्यापिएको अवस्थामा फेला परेको शव निकाल्न जिल्ला प्रहरी कार्यालय बझाङबाट इन्स्पेक्टर दीपेश चौधरीको नेतृत्वमा टोली खटिएको जिल्ला प्रहरी कार्यालय बझाङले बताएको छ।

प्रदेश प्रहरी कार्यालयका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक प्रज्वल महर्जनले घाइतेको संख्या २७ पुगेको जानकारी दिए। उनका अनुसार सबैभन्दा धेरै बझाङमा १८ जना, अछाममा ५, बाजुरामा २ र बैतडीमा २ जना घाइते भएका छन्।

उनीहरूको स्थानीय स्वास्थ संस्थाहरूमा उपचार भइरहेको छ। यस्तै भूकम्पले बझाङ, बाजुरा, अछाम र बैतडीमा ७६ वटा निजी घर पूर्ण रूपमा भत्किएको प्रदेश प्रहरी कार्यालय धनगढीले जनाएको छ। यस्तै ३०१ घरमा आशिंक क्षति पुगेको बताइएको छ ।

प्रकाशित मिति: बुधबार, असोज १७, २०८०  ०९:२२
प्रतिक्रिया दिनुहोस्
Weather Update