Paschim Express
‘मोस्ट वान्टेड’ विक्की भारतमा पक्राउ, डडेल्धुरामा पनि चलाएका थिए ‘डग्स्’को धन्दा

डडेल्धुरा । नेपाल प्रहरीको ‘मोस्ट वान्टेड’ सूचीमा रहेका दुईजनालाई भारतको पलिया प्रहरीले पक्राउ गरेको छ ।

मंगलबार भारतको पलिया खिरि थाना अन्तर्गतको प्रथम बजार कस्बाका ‘ड्रग्स किंग’ भनिने २५ वर्षीय अंकित माल्या र सिगहिया कस्बामा डेरा गरी बस्ने ३२ वर्षीय विक्की नेपाली भनिने बिक्की गुप्तालाई भारतीय प्रहरीले पक्राउ गरेको हो । 


उनीहरुको साथबाट ३९० ग्राम ब्राउन सुगर बरामद गरिएको भारतीय प्रहरीले जनाएको छ। ‘ड्रग्स किंग’ भनिने अंकित माल्याको साथबाट २६० ग्राम ब्राउन सुगर र विक्की गुप्ताको साथबाट १३० ग्राम ब्राउन सुगर बरामद भएको भारतको पलिया थानाले प्रेस विज्ञप्ती जारी गरि जनाएको छ ।

दुवैजना नेपाल प्रहरीको ‘मोस्ट वान्टेड’ कारोबारी हुन् ।  विक्की नेपाली भनिने विक्की गुप्ता लामो समयदेखि धनगढीमा बसेर ब्राउन सुगरको कारोबार गर्दै आएका थिए । उनले कैलाली कारागारमा ब्राउन सुगरको ‘रकेट’ चलाएको खुलेपछि उनको नेपाल प्रहरीले खोजी गरेको थियो । उनले कारागारमा रहेका कैदीबन्दीका आफन्तहरुसँग चिनजान गरेर खाना पुगाउन जाने बेला खानाभित्र ब्राउनसुगर पठाएर कारोबार गरिरहेका थिए । 

उनी लामो समयसम्म डडेल्धुरामा पनि बसेका थिए । डडेल्धुराकै युवतीसँग बिहे गरेका उनले जिल्ला सदरमुकाममा मोटरसाइकलको ग्यारेज खोलेर बसेका थिए । उनले त्यसकै आडमा ‘ड्रग्स’को धन्दा चलाएका थिए । विभिन्न समयमा पक्राउ समेत परेका उनी छ्ट्दै आएका थिए । उनले जिल्लाका किशोरकिशोरीलाई विभिन्न प्रकारका लागुऔषध सप्लाई गर्थे । 

लामो समयसम्म नेपालमै बसेर कारोबार गरिरहेका गुप्ता नेपाल प्रहरीले खोज्न थालेपछि उनी हाल भारतको पलियामा डेरा गरी बस्दै आएका थिए ।

drugs_F6Izpy4iuj-1713935609.jpg

प्रकाशित मिति: बुधबार, वैशाख १२, २०८१  १०:५९
प्रतिक्रिया दिनुहोस्
Weather Update