Paschim Express
सुदूरपश्चिममा मानव–वन्यजन्तुको द्वन्द्व बढ्दो, अध्ययनका लागि खटियो विज्ञ टोली

बैतडी । मानव र चितुवाबीच द्वन्द्व बढेपछि नरभक्षी चितुवा र बँदेलको गतिविधि नियाल्न बैतडीमा क्यामेरा जडान गरिएको छ । जिल्लाको ग्वाल्लेक संरक्षित वन क्षेत्रमा ५० वटा स्वचालित क्यामरा जडान गरिएको हो  । तल्लोस्वराड क्षेत्रको मेलौली, शिवनाथ र पञ्चेश्वरमा २८ जना चितुवाको आक्रमणबाट मरिसकेका छन् ।

चितुवा र जङ्गली बँदेलको आक्रमणमा परेर २० जनाभन्दा बढी घाइते भएका छन् । मानवले थापेको पासोमा परेर १२ वटा चितुवा पनि मरेका छन् । मानव र वन्यजन्तुबिच द्वन्द्वबढेपछि राष्ट्रिय प्रकृति संरक्षण कोष शुक्लाफाँटा संरक्षण कार्यक्रम अन्तर्गत ग्वाल्लेक, मेलौली नगरपालिका–३, सलेना, तिताबै र महारुद्र क्षेत्रमा स्वचालित क्यामेरा जडान गरिएको क्यामरा ट्र्यापर सुमन मल्लले जानकारी दिए । 

सुदूरपश्चिम प्रदेशका उच्च पहाडी क्षेत्रमा बाघ संरक्षण तथा वन्यजन्तु र मावनबिचको सहअस्तित्व कायम गर्न विज्ञटोलीसहित उनी बैतडी आइपुगेका हुन् । पहिलो चरणमा मेलौली नगरपालिका, शिवनाथ र पञ्चेश्वर गाउँपालिकासम्म चितुवाको अध्ययन गरिने बताइएको छ । अनुसन्धान टोलीमा इनल्यान्ड नर्वे युनिभर्सिटी अफ अप्लाइड साइन्सका वन्यजन्तु अध्ययनकर्ता इमिल इरिकसन र कलरा मार्थिनोभिक पनि रहेका छन् । युरोपमा मानव–वन्यजन्तुको द्वन्द्व नरहेकाले मानव–वन्यजन्तुबिचको द्वन्द्व अध्ययन गर्न उनीहरू आएका हुन् । 

उक्त अनुसन्धानपछि यो क्षेत्रका बासिन्दाले सुरक्षा अपनाउन सक्ने आशा गरेको अध्ययन टोलीले बताएको छ । चितुवाको अध्ययन गर्न ५० वटा स्वचालित क्यामरा १५ रातसम्म राखिने छन् । स्वचालित क्यामराले वन्यजन्तुको चाल र शरीरको तापक्रम पाउने बित्तिकै गतिविधि रेकर्ड गर्ने क्यामरा ट्र्यापर मल्लले बताए ।

प्रकाशित मिति: बिहीबार, वैशाख १३, २०८१  १०:१७
प्रतिक्रिया दिनुहोस्
Weather Update