Paschim Express
कैलालीकाे गेटामा राष्ट्रिय स्वास्थ्य विज्ञान विश्वविद्यालय खाेल्ने प्रक्रिया सुरु

कैलाली : सरकारले कैलालीमा सहिद दशरथ चन्द राष्ट्रिय स्वास्थ्य विज्ञान विश्वविद्यालय सञ्चालनका लागि विधेयक अघि बढाएको छ । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले स्वास्थ्य क्षेत्रको अध्ययन–अनुसन्धानलगायत उद्देश्य समेटिएको करिब ६ सय शय्याको स्वास्थ्य विज्ञान विश्वविद्यालयसम्बन्धी विधेयक स्वीकृत गरेका हो । 

विधेयक अब संसद्मा पेस हुन बाटो खुलेको छ । कानुन बनेपछि विश्वविद्यालय सञ्चालनमा आउनेछ । यसअघि गेटा मेडिकल कलेज बनाउने भनिए पनि सरकारले ०७९ माघमा स्वास्थ्य विज्ञान विश्वविद्यालय बनाउने निर्णय गरेको थियो । त्यसका लागि गेटामा पाँच अर्ब लागतमा अस्पताल, कलेज, प्रशासनिक र होस्टेलका लागि २७ वटा भवनको निर्माण सम्पन्न भइसकेको छ । कानुनी बाटो तयार भइसकेपछि सुदूरपश्चिममै पहिलोपटक विश्वविद्यालय सञ्चालनमा ल्याइनेछ । 

यस किसिमको विश्वविद्यालय सञ्चालनका लागि ०५६ देखि नै प्रयास थालिएको थियो । सोहीअनुसार ०५६ मा मेडिकल कलेज स्थापनाका लागि गेटा आँखा अस्पतालनजिक ७७ बिघा जमिन छुट्याइएको थियो । ०६६ मा राष्ट्रिय योजना आयोगमार्फत मेडिकल कलेज बनाउन ११ करोड रुपैयाँ विनियोजन भएको थियो भने ०६६ मै गेटा मेडिकल कलेज संरचना विकास समितिसमेत गठन भयो । 

२९ माघ ०७९ मा मन्त्रिपरिषद्बाट गेटा मेडिकल कलेजलाई सहिद दशरथ चन्द राष्ट्रिय स्वास्थ्य विज्ञान विश्वविद्यालयका रूपमा विस्तार गर्ने निर्णय भयो । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकबाट विश्वविद्यालयको विधेयक तयार भई स्वीकृत भएपछि विश्वविद्यालय सञ्चालनमा अर्को उपलब्धि भएको छ ।

हाल देशभर सातवटा स्वास्थ्य विज्ञान प्रतिष्ठान र २१ वटा मेडिकल कलेज सञ्चालनमा छन् । तर सुदूरपश्चिममा यस्तो प्रतिष्ठान तथा विश्वविद्यालय भने छैनन् । अब सहिद दशरथ चन्द राष्ट्रिय स्वास्थ्य विज्ञान विश्वविद्यालयले सुदूरपश्चिम क्षेत्रकै स्वास्थ्य क्षेत्रमा थुप्रै अध्ययन अनुसाधन हुने अनुमान गरिएको छ । 

विश्वविद्यालय सञ्चालनका लागि लामो समयदेखि संघर्ष र विभिन्न अभियान सञ्चालन गर्दै आएका अभियन्ता तथा पूर्वसांसद डा.दीपकप्रकाश भट्टले राष्ट्रिय स्वास्थ्य विज्ञान विश्वविद्यालयले सुदूरपश्चिम क्षेत्रका मात्रै नभई नेपालकै स्वास्थ्य क्षेत्रमा ठूलो आयाम ल्याउने र स्वास्थ्य क्षेत्रका थुप्रै अध्ययन अनुसन्धान हुनसक्ने बताए । ‘यो हामी सबैका लागि ठूलो उपलब्धि हो, अझ सुदूरपश्चिमका लागि हर्षको विषय हो । यस क्षेत्रको स्वास्थ्य क्षेत्रमा यो नयाँ सुरुवाती सुधारको संकेत पनि हो । अब सबै विषयमा अध्ययन अनसुन्धान गर्न र सबै विषय बढाउन विश्वविद्यालयले मद्दत गर्छ,’ उनले भने । 

सुदूरपश्चिममा विश्वविद्यालय सञ्चालन हुनुपर्ने मागसहित दबाबमूलक आन्दोलन र सर्षघका कार्यक्रम हुँदै आएका थिए । लामो समयदेखि सुदूरपश्चिम क्षेत्रले माग गरेको विश्वविद्यालय सञ्चालनका लागि सरकार सकारात्मक देखिएपछि स्वास्थ्य क्षेत्र फराकिलो बन्ने अनुमान गरिएको हो । 

प्रकाशित मिति: बुधबार, असोज १७, २०८०  ११:५६
प्रतिक्रिया दिनुहोस्
Weather Update