Paschim Express
बझाङ उपनिर्वाचनको तयारी पूरा, १२ सय सुरक्षाकर्मी परिचालन, साढे ६१ हजारले मतदान गर्न पाउने

बझाङ । बझाङ प्रदेशसभा निर्वाचन क्षेत्र नम्बर १(१) मा बैशाख १५ गते हुने निर्वाचनको तयारी सकिएको छ । ९३ मतदान केन्द्रका लागि ४६५ कर्मचारी परिचालन गरिएका छन् । 

सबै मतदान केन्द्रका कर्मचारी निर्वाचन सामाग्रीसहित मतदानस्थलमा पुगिसकेका निर्वाचन आयोगले जनाएको छ । बुधबार राती १२ बजेदेखि मौन अवधी सुरु भएकाले प्रचारप्रसार बन्द भएको छ ।

वैशाख १५ गते हुने मतदानका लागि मतदान अधिकृत, सहायक मतदान अधिकृत, मतदान कर्मचारी र सहायक कर्मचारीहरू निर्वाचन खर्च र सामग्रीसहित मतदान केन्द्र र मतदान स्थलमा पुगिसकेका छन् ।

निर्वाचन क्षेत्रभरी १२ सय जना सुरक्षाकर्मी परिचालन गरिएका छन । उप निर्वाचनमा नेपाल प्रहरी र सशस्त्र प्रहरीले सुरक्षा दिनेछन् । उपनिर्वाचनलाई शान्त र भय रहित वातावरणमा सम्पन्न गर्नका लागि निर्वाचन क्षेत्रभित्र रहेका मतदान केन्द्रलाई संवेदनशीलताको आधारमा वर्गीकरण गरेर सुरक्षाकर्मी परिचालन गरिएको निर्वाचन आयोगले जनाएको छ । 

७४ मतदान स्थलमा रहेका  ९३ मतदान केन्द्रमा ३१ हजार ५४९ पुरुष र ३० हजार १९९ महिला गरी कुल ६१ हजार ७४८ मतदाताले मतदान गर्नेछन् ।  जिल्ला निर्वाचन कार्यालय बझाङका निर्वाचन अधिकृत मानबहादुर धामीले शनिवार हुने उपनिर्वाचनका लागि मौन अवधि सुरु भएसँगै सबै केन्द्रमा कर्मचारी पुगेको बताए । 

बझाङमा ठूला साना दलका गरी ११ जना उमेदवार चुनावी मैदानमा छन् । शनिवार बिहान ७ देखि साँझ ५ बजेसम्म मतदान हुने हुने र निर्भयका साथ मतदानमा भागलिन आयोगले अपिल गरेको छ ।
 

प्रकाशित मिति: शुक्रबार, वैशाख १४, २०८१  ०७:४६
प्रतिक्रिया दिनुहोस्
Weather Update