Paschim Express
बझाङ उपनिर्वाचनमा मतदान सुरू

डडेल्धुरा । बझाङका प्रदेशसभा १(१) मा मतदान सुरू भएको छ । निर्धारित समयअनुसार बिहान ७ बजेदेखि मतदान सुरु भएको हो ।

उपनिर्वाचन हुने प्रदेशसभा निर्वाचन क्षेत्र (१) का ७४ वटै मतदान स्थल र ९३ मतदान केन्द्रमा मतदान सुरु भएको छ । सो क्षेत्रको चुनावमा सात वटा पालिकाका ४९ र थलारा गाउँपालिकाको वडा नम्बर ९ सहित ५० वडाका मतदाता सहभागी हुने छन् ।

६१ हजार ७४८ मतदाता रहेको सो क्षेत्रमा ६० प्रतिशतभन्दा बढी मत खस्ने अनुमान गरिएको छ । मतदान शान्तिपूर्ण बनाउन नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाका टोली खटिएको छ । मतदान सकिएपछि शनिबार नै सबै मतदान केन्द्रबाट मतपेटिका सदरमुकाम चैनपुर ल्याइने छ । साइपाल गाउँपालिका लगायतका विकट क्षेत्रबाट भने मतपेटिका हेलिकोप्टरबाट ल्याइने भएको छ ।

सो क्षेत्रबाट निर्वाचित नेपाली काँग्रेसका प्रदेशसभा सदस्य पृथ्वीबहादुर सिंहको गत वर्ष सडक दुर्घटनामा मृत्यु भएको पछि सो क्षेत्रमा उपनिर्वाचन हुन थालेको हो । ११ जना उम्मेदवार रहेको सो क्षेत्रबाट मुख्य दलहरू नेपाली काँग्रेसले स्व. सिंहको जेठा छोरा अभिषेकबहादुर सिंह, नेकपा (एमाले) ले दमन भण्डारी, नेकपा (माओवादी केन्द्र ) का जनक बुढा र नेकपा (एकीकृत समाजवादी) का दिलबहादुर सिंहलाई उम्मेदवार बनाएको छ ।

प्रकाशित मिति: शनिबार, वैशाख १५, २०८१  ०७:२६
प्रतिक्रिया दिनुहोस्
Weather Update