Paschim Express
बझाङ प्रदेशसभा उपनिर्वाचनमा मतदान सम्पन्न, मतपेटिका सङ्कलनका लागि हेलिकोप्टर

बझाङ । बझाङ प्रदेश सभा १ मा भएको उपनिर्वाचनमा मतदाताको उत्साह कम देखिएको छ । शनिवार बिहान ७ बजेदेखि साँझ ५ बजेसम्म भएको मतदानका क्रममा मतदाताको उत्साह कम देखिएको हो ।

निर्वाचन आयोगका अनुसार बझाङको प्रदेश सभा १ मा ५१ प्रतिशत हाराहारी मतदान भएको छ । प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाका अनुसार बझाङमा ५४ प्रतिशतसम्म मतदान होला भन्ने अपेक्षा थियो ५० देखि ५१ प्रतिशत हाराहारी भएको छ । उनले सबै मतदान केन्द्रमा शान्तिपूर्ण रूपमा मतदान भएको जानकारी दिए ।

मतदान सकिएसंगै शनिबार नै सबै मतदान केन्द्रबाट मतपेटिका सदरमुकाम चैनपुर ल्याउने कार्य भइरहेको छ । साइपाल गाउँपालिका लगायतका विकट क्षेत्रबाट भने मतपेटिका हेलिकोप्टरबाट ल्याउने तयारी छ ।

सो क्षेत्रबाट निर्वाचित नेपाली काँग्रेसका प्रदेशसभा सदस्य पृथ्वीबहादुर सिंहको गत वर्ष सडक दुर्घटनामा मृत्यु भएको पछि सो क्षेत्रमा उपनिर्वाचन भएको हो ।

११ जना उम्मेदवार रहेको सो क्षेत्रबाट मुख्य दलहरू नेपाली काँग्रेसले स्व. सिंहको जेठा छोरा अभिषेकबहादुर सिंह, नेकपा (एमाले) ले दमन भण्डारी, नेकपा (माओवादी केन्द्र ) का जनक बुढा र नेकपा (एकीकृत समाजवादी) का दिलबहादुर सिंहलाई उम्मेदवार बनाएको छ ।

प्रकाशित मिति: शनिबार, वैशाख १५, २०८१  १७:५८
प्रतिक्रिया दिनुहोस्
Weather Update